भ्रष्टाचार अन्त्यमा हुने प्रचण्डकाे अाशंका
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य संयन्त्र भ्रष्टाचारले ग्रस्त भएको भन्दै यसलाई अन्त्य नगरेसम्म मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।
संसद बैठकमा संबोधन गर्दै प्रचण्डले राज्य संरचनामा सुशासनको कमी र भ्रष्टाचार व्याप्त रहेको भन्दै यसलाई अन्त्य नगरेसम्म विकास र समृद्धि अघि बढ्न नसक्ने बताएका छन् ।
‘सुशासन आफैं भित्रबाट खोज्नुपर्छ, हाम्रो राज्य संरचनाको काम गर्ने प्रवृत्ति बिग्रेको छ,’ उनले भने ‘सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हाे । भ्रष्टाचारी र ठगहरुलाई कसले कसरी अन्त्य गर्ने ?’
प्रचण्डले नेपालमा भारतपरस्त र चीनपरस्त भन्ने युग पनि सकिएको दाबी गरे । उनले भने ‘अब न चीनपरस्त, न भारतपरस्त हामी सबै नेपालपरस्त, हामी अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध राखेर देशको विकास गर्न चाहन्छौं ।’
प्रचण्डले नेपाललाई विकासको युगतिर अघि बढाएर विदेश गएका लाखौं नेपालीलाई स्वदेश फर्काउने पनि दाबी गरे ।
प्रचण्डले प्रधानममन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न तयार रहेको बताउनुले राष्ट्रिय एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीले मधेसी दलसँगको छलफलमा संविधान संशोधनको लागि तयार रहेको बताउनुले सबै समुदायबीच एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको बताएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधनमा सघाउने बताउनुले प्रतिपक्ष र सत्तापक्ष मिलेर अघि बढ्ने संकेत देखिएको बताएका हुन् ।