पश्चिम सेती बनाउन थ्री गर्जेजको पुनः चासो
काठमाडौं, । प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएको तीन साता नबित्दै पश्चिम सेतीको प्रवर्द्धक चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआईसी) ले लगानी बोर्ड र विद्युत् प्राधिकरणसित ‘वार्ता’ थालेको छ ।
आयोजनाबाट हात झिक्ने अवस्थामा पुगिसकेको सीटीजीआईसीले सरकार परिवर्तनपछि निर्माण प्रक्रिया अघि बढाउन चासो राखेको हो ।
सीटीजीआईसीका उपाध्यक्ष युयान झिआयोको नेतृत्वमा आएको चार सदस्यीय टोलीले आइतबार र सोमबार बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलगायत पदाधिकारी र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसित छुट्टाछुट्टै वार्ता गरी आयोजना अघि बढाउने प्रक्रियामा छलफल गरेको हो।
सीटीजीआईसीले यसअघि प्राधिकरणले तय गरेको जलाशययुक्त बिजुलीको खरिद सम्झौता (पीपीए) दरबाट पश्चिम सेती आयोजना लगानी अयोग्य हुने उल्लेख गर्दै ‘निर्माण प्रक्रियाका कार्ययोजना पेस गरिरहनुको कुनै अर्थ नहुने’ पत्राचार गरेको थियो।
उक्त पत्रपछि लगानी बोर्डले आयोजना कार्यान्वयनका लागि सहजीकरण गर्न बोर्ड तयार रहेको भन्दै वार्ताका लागि इमेल पठाएको थियो। बोर्डको निमन्त्रणालाई कुनै चासो नदिएको सीटीजीआईसीले सरकार परिवर्तनलगत्तै टोली पठाएको हो । याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।