राष्ट्रपतिमा भण्डारीलाई नै निरन्तरता दिने एमालेको निर्णय, यस्ताे छ विगत
काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो ४ बजेदेखि शुरु भएको स्थायी समितिको बैठकले मध्यरातमा राष्ट्रपतिको उम्मेदवारमा भण्डारीलाई निरन्तरता दिने निर्णय गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए।
राष्ट्रपतिको उम्मेदवारका लागि वर्तमान राष्ट्रपति भण्डारीसहित पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले आकांक्षा राखेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले खनाललाई राष्ट्रपति बनाउनुपर्ने अडान अन्तिम समयसम्म राखेपछि निर्णय गर्न सकस परेको थियो।
तर खनाललार्इ पाखा लगाउदै भण्डारीले नै बाजी मारेकी हुन् । २९ फागुनमा हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको कार्यक्रम छ ।
भण्डारी काे विगत यस्ताे छ ।
भण्डारी यसअघि २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचित भएकी थिइन् । उनले नेपालको दोस्रो राष्ट्रपति र पहिलो महिला राष्ट्रपतिको इतिहास बनाएकी थिइन्।
महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्ष हुँदै उनले अनेमसंघ केन्द्रीय अध्यक्ष तथा एमाले केन्द्रीय उपाध्यक्षसम्म भएर काम गरिन्। भण्डारी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री, जनसंख्या तथा वातावरण र रक्षा मन्त्री भइसकेकी छन्।
मदन भण्डारीको निधनपछि भएको काठमाडौं १ को उपनिर्वाचनमा तत्कालिन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि भण्डारी केन्द्रीय राजनीतिमा स्थापित भइन्।
एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रबाट उम्मेदवार हुनेछन् । उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनले नै निरन्तरता पाउँदैछन्।
संघीय संसद र प्रदेशसभामा वाम गठबन्धनको स्पष्ट बहुमत भएकाले भण्डारी र पुनले दोस्रो कार्यकाल पनि निरन्तरता पाउने निश्चित छ।