News

यस्तो रह्यो पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण

यस्तो रह्यो पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेर स्वदेश फर्केका छन्।

 

अब्बासीले मंगलबारै ठमेलस्थित सार्क सचिवालय परिसरमा वृक्षरोपण पनि गरेका छन् । सोमबार र मंगलबार १९ घन्टा बसाइका क्रममा भएका सबै भेटवार्तामा उनले चीन–पाकिस्तान इकोनोमिक करिडोरको क्षेत्रीय महत्वको चर्चा गर्न छुटाएनन्।

 

उनले पाकिस्तान आतंकवादसँग जुधिरहेको दलिल पेस गरिरहे । सोमबार उनले प्रधानमन्त्री केपी ओली र सार्क महासचिव सियालसँग भेटघाट गरे । ‘प्रधानमन्त्री अब्बासीले सोमबार र मंगलबार शीर्षस्थ नेतृत्वसँग भेटवार्ताका क्रममा दुईपक्षीय मामिलाबारे मात्र होइन, चीनसँग पाकिस्तानको आर्थिक साझेदारी, सार्कबारे पनि छलफल गरेका छन्।

 

अब्बासीले सबैसँगको भेटमा चीनको सहुलियत ऋणमा निर्माणाधीन चीन–पाकिस्तान इकोनोमिक कोरिडोर सिपेकले यो क्षेत्रकै कायापलट गर्ने दाबी प्रस्तुत गरेका छन् । तर, सिपेकको अनुभव नेपाललाई काम नलाग्ने नेपाली अधिकारीको भनाइ छ।

 

सोमबार दुई प्रधानमन्त्रीबीचको वार्तामा सिपेक, चीनले घोषणा गरेको वान बेल्ट वान रोड परियोजनाबारे छलफल भएको छ। नेपालले गत वर्ष ओबीओआरमा सहभागी हुने निर्णय गरेको छ ।

 

अब्बासीले सिपेक ओबीओआरको सदृश्य र उल्लेखनीय परियोजना भएको तथा यसले सडकमार्ग, ग्वादर एयरपोर्ट, इकोनोमिक फ्रिजोन, ऊर्जा उत्पादन परियोजनामा जोड दिएको ओलीसँग बताएका थिए ।

 

अब्बासीले सिपेकका सम्बन्धमा आफ्नो अनुभव र ज्ञान नेपाललाई सेयर गर्न पाकिस्तान सदा तत्पर रहेको पनि उल्लेख गरेका थिए।  उनले तुर्कमेनिस्तान–अफगानिस्तान–पाकिस्तान–भारत ग्यास पाइपलाइन परियोजनाबारे पनि प्रधानमन्त्री ओलीलाई बताएका थिए।

 

उनले पाकिस्तान–नेपाल व्यापार परिषद्लाई सक्रिय बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पाकिस्तानका विभिन्न क्षेत्रमा लगानीका लागि उनले नेपाली लगानीकर्तालाई आह्वान पनि गरे ।

 

पाकिस्तान सन् २०१६ नोभेम्बरमा सार्क सम्मेलन गर्न तयारी अवस्थामा रहेको उल्लेख गरे। प्राथमिकताका आधारमा सम्मेलन चाँडै गर्नुपर्नेमा उनको जोड थियो। याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।

विशेष