News

एसइई परीक्षाको तयारी पूरा, करिब ५ लाख विद्यार्थी सहभागी हुने

एसइई परीक्षाको तयारी पूरा, करिब ५ लाख विद्यार्थी  सहभागी हुने

भक्तपुर । आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधवार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो ।

 

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पठाउने काम सकिएको बताए ।

 

उनले भने, ‘परीक्षाको तयारी पूरा भएको छ । प्रश्नपत्र, उत्तर पुस्तिकासँगै अन्य सामग्री पनि जिल्ला पठाइएको छ । यसवर्ष नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी कुल चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

 

परीक्षाका लागि देशभरमा एक हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए । बिहान ८ देखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

 

प्राविधिकतर्फका परीक्षा चैत १४ गते शुरु भई २० गतेभित्र सम्पन्न हुनेछन् । परीक्षामा एक हजार ९ सय ५६ केन्द्राध्यक्ष, तीन हजार ९ सय १२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटिने बताइएको छ । 

विशेष