बाजुरामा एक सातादेखि टेलिफाेन सेवा अवरूद्ध, टेलिकम मूकदर्शक
बाजुरा । बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रिँदा टेलिफोन सेवा अवरुद्ध भर्इ सेवाग्राही मर्कामा परेका छन् ।
साबिकका ११ गाविसमा रहेका नमस्ते र स्काईका लागि निर्माण गरिएको उक्त टावरमा एक सातादेखि खराबी आएपछि स्थानीयवासी सम्पर्कविहीन बनेका नेपाल प्रेस युनियन जिल्ला शाखा अध्यक्ष छक्कबहादुर मल्लले जानकारी दिए ।
उनले दिएको जानकारीअनुसार लगातारको मौसम बदलीसँगै टेलिकमको टावरले काम गर्न छोडेपछि साबिकका ११ गाविसका स्थानीय सम्पर्कविहीन बन्न पुगेका हुन् ।
साबिकका ११ गाविसका लागि निर्माण भएको टावरको नेटवर्कले बेलुकी ५ बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्म घाम नलागुन्जेल नेटवर्कले काम नगर्ने समस्या हुँदाहँुदै पनि एक सातादेखि टावरमा खराबी आएर टेलिफोन सेवा अवरुद्ध हुँदा कसैको ध्यान नगएको स्थानीयवासी पदमबहादुर विष्टले बताए ।
जनताले सहज रुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुकदर्शक बनेको विष्टले बताए ।
मर्मतका लागि टेलिकमको मर्मत टोली आज बिहान डडेल्धुराबाट बाजुराका लागि आएको बताइएको छ ।
–––