News अपराध सुरक्षा

अख्तियारको निर्णय नै नक्कली !

अख्तियारको निर्णय नै नक्कली !

काठमाडौं । भूमाफिया र बिचौलियाको मिलेमतोमा अख्तियार दुरुपयोग अनुसन्धा आयोगको नाममा नक्कली निर्णय र चिठी तयार भएको तथ्य फेला परेको छ। 

 

गोप्य रूपमा तयार पारिएका त्यस्ता नक्कली लेटरप्याड, छाप र हस्ताक्षरसहितका निर्णय र चिठी कब्जामा लिएर अख्तियारले प्रहरीको जिम्मा लगाएपछि बिचौलिया गिरोहको रहस्य खुलेको हो। 

 

राजधानीको केन्द्रमा रहेका बहुमूल्य जग्गा कब्जामा लिने प्रयोजनका लागि अख्तियारका फर्जी निर्णय तयार भएका हुन्। त्यस्ता नक्कली पत्रमा अख्तियारको नक्कली छाप, हस्ताक्षर, लोगो र लेटरप्याड प्रष्ट देखिन्छ। 

 

नक्कली निर्णयको विषयलाई लिएर अख्तियारले गम्भीर चिन्ता व्यक्त गरेको छ। गत वर्ष बिचौलियाद्वारा अदालतको फैसलासमेत नक्कली रूपमा तयार भएको तथ्य बाहिर आएको थियो। 

 

पछिल्लो घटनाले अख्तियारका निर्णयसमेत नक्कली रूपमा तयार गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ।  अख्तियारको नाममा गिरोहले ०७२ जेठ २८ को मिति राखेर एउटा बैठकको निर्णयको प्रतिलिपि नै तयार पारेको छ। 

 

उक्त प्रतिलिपि काठमाडौं चाबहिलका विभिन्न कित्ताका जग्गाको निर्णयसम्बन्धी छन्। भूमिसम्बन्धी रावल आयोगले रोक्का राखेका ती जग्गालाई बिक्री प्रयोजनका लागि मालपोतबाट फुकुवा गर्ने निर्णय भएको छ। 

 

काठमाडौं महानगरपालिका साविक वडा नम्बर ७ (ख) अन्तर्गत कित्ता नम्बर २१, २२ र १४९ अन्तर्गतका सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको भनेर अख्तियारमा उजुरी परेको र त्यस विषयमा विवाद नदेखिएको भन्दै मालपोतबाट फुकुवा गरी शान्तरत्न शाक्यको नाममा सार्ने व्यहोराको फर्जी निर्णय भएको छ।  याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।
 

अख्तियार निर्णय नक्कली

विशेष