विदेश

इन्डोनेसियामा मदिरा सेवनबाट ६२ को मृत्यु

इन्डोनेसियामा मदिरा सेवनबाट ६२ को मृत्यु

काठमाडाैं । इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने दर्जनौं गम्भीर बिरामी भएका छन्।  

 

मदिरा सेवनबाट विरामी परेका केही अन्य व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतक सङ्ख्यामा केही वृद्धि हुनसक्ने इन्डोनेसियाली स्वास्थ्य अधिकारीले बताएका छन्।

 

यस घटनापछि प्रहरीले विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इन्डोनेसियाका विभिन्न शहरमा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा छापा मार्ने र यसमा सम्लग्न व्यक्तिलाई पक्राउ गर्न व्यापक खानतलासी गरिरहेको इन्डोनेसियाका सुरक्षा अधिकारीले बताए।  

 

धेरैजसो इन्डोनेसियाली नागरिकले इस्लामको नरम नीतिलाई अवलम्बन गर्दै मुलुकका ठूला शहरमा मदिरा विक्रीलाई अभ्यास गर्दै आएका छन्। तर चर्को करले ब्रान्डेड मदिराको मूल्य बढी हुन जाँदा न्यून आम्दानी भएका नागरिकले भने घरमा बनाइएको असुरक्षित मदिराको सेवन गर्ने गर्छन्। 

 

असुरक्षित मदिरा सेवन गरेर भएको पछिल्लो घटनामा विगत एक हप्ताको अवधिमा पपुवामा आठसहित पश्चिमी जाभा क्षेत्रमा ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रहरी र स्वास्थ्यकर्मीले दिएको तथ्याङ्कमा छ।  

 

खोकीको औषधि, लामखुट्टे मार्न प्रयोग हुँने कीटनासक रसायनलगायतका रसायनको मिश्रण गरी बनाइएका घरेलु मदिरा बजारमा जाँदा यसको सेवनबाट धेरै नागरिकको ज्यान गुमेको स्थानीय प्रहरी प्रमुख अगुङबुढी मार्योटोले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए। 

 

अवैध रूपमा मदिरा उत्पादन गरी असुरक्षित मदिरालाई बजारमा आपूर्ति गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई सुरक्षा नियन्त्रणमा लिएसमेत जानकारी दिए।  प्रहरीले असुरक्षित मदिरा बजारमा आपुर्ति गर्ने ठूला विक्रेता तथा डिस्ट्रब्युटर्स रहेका आशंकामा खोजी गरिरहेको जनाएको छ ।

 

राजधानीकै कुनै भागमा दुई दर्जन मानिसको असुरक्षित मदिरा सेवनका कारण मृत्यु भएको भन्ने खबरप्रति सुरक्षाप्रशासन थप सम्वेदनशील बनेको प्रहरीले बताएको छ। 

इन्डोनेसियामा असुरक्षित मदिरा सेवनका कारण सन् २०१६ मा पनि इन्डोनेसियाको मध्य जाभा क्षेत्रमा घरेलु मदिराको सेवनबाट ३६ जनाको मृत्यु भएको थियो।   
 

मदिरा सेवन

विशेष