ब्राजिलमा नयाँ मन्त्रिमण्डल बिस्तार
एजेन्सी । ब्राजिलका नवनियुक्त दशजना मन्त्रीले मंगलबार कार्यभार सम्हाल्हेका छन् । राष्ट्रपति मिचेल टेमेरले उनीहरूलाई शपथग्रहण गराउनु भएको ब्राजिलका समाचार संस्थाहरूले जनाएका छन् । आउँदो अक्टोबर महिनामा आमनिर्वाचनको तयारी भइरहेका बेला नयाँ मन्त्रीहरूलाई जिम्मेवारी दिइएको हो ।
आगामी निर्वाचनबाट नयाँ राष्ट्रपति, राज्य सरकार, केन्द्रीय सरकार र सांसदहरू निर्वाचित हुनेछन् । निर्वाचित हुने यिनीहरूमध्ये अन्य सबैको चार वर्षे कार्यकाल हुनेछ भने संसद्को आठ वर्षे कार्यकाल हुनेछ ।
अहिले परिवर्तन भएका मन्त्रीहरूमध्ये वित्त मन्त्री हेर्निक मेरेलेसले ब्राजिलियन डेमोक्र्याटिक मुभमेण्ट (एमडिबी) पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना रहेको बताइएको छ । अहिलेका राष्ट्रपति टेमेरले पनि केही दिनअगाडि आफू फेरि निर्वाचित हुन चाहेको संकेत गरेका छन् । दुई जनाको चाहनाका कारण पार्टीमा तनाव हुने देखिएको छ ।
मेइरेलेसले उपराष्ट्रपति बन्न भने चाहना नभएको भन्दै अस्वीकार गर्दै आउनुभएको समाचारमा जनाइएको छ । राष्ट्रपतिका आकांक्षी बनेका मेइरेलेसलाई इडुर्डो गुर्डियाले अर्थमन्त्रीमा विस्थापित गरेका छन् ।
नयाँ बनेका मन्त्रीहरूमध्ये रोस्सीली सोर्रेसलाई शिक्षा मन्त्रालय, अल्बर्टो बेल्ट्रामलाई समाज विकास मन्त्रालय, इस्टेभेस कोल्नागोलाई योजना मन्त्रालय, लेन्ड्रो क्रुज फ्रोज डा सिल्भालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी पर्यटनमन्त्रीमा मिनिसिउस लुम्मेर्टस, खनिज तथा ऊर्जा मन्त्रीमा वेलिङटन मोरेइरा फ्रान्सो, राष्ट्रिय एकीकरण मन्त्रीमा एन्टोनियो डे पाडौ डे डेउस, उद्योग तथा व्यापार मन्त्रीमा मार्कोस जोर्गे डे लिमा र मजदुर मन्त्रीमा हेल्टन योमुरा नियुक्त भएका छन् ।
राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार मानवअधिकार मन्त्रालयमा गुस्टाभो रोचा भने शपथग्रहण गराउने समारोहमा सहभागी हुन आएका थिए ।