News

एसएसपीकै कासमुका आधारमा सर्वेन्द्र आइजीपी, यस्तो छ नालीबेली

एसएसपीकै कासमुका आधारमा सर्वेन्द्र आइजीपी, यस्तो छ नालीबेली

काठमाडौँ । सरकारले एसएसपी छँदाकै कार्य सम्पादन मूल्यांकन (काममू)का आधारमा सर्वेन्द्र खनाललाई आइजिपीमा नियुक्त गरेको छ ।

 

नियमअनुसार नेपाल प्रहरी कासमू प्रत्येक आर्थिक वर्षको अन्त्यमा मात्रै तयार गरिन्छ । सर्वेन्द्रसँगै बढुवा भएका रमेश खरेल, पुष्कर कार्की र धिरु बस्नेत आठ महिनाअघि मात्रै एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए।

 

त्यसैले आइजीका दौडमा रहेका कुनै पनि उम्मेदवारको कासमू तयार पारिएको थिएन । यसकारण सरकारले आइजिपी नियुक्तमा डिआइजीको कासमू हेर्न सकेन । एसएसपीबाट डिआइजीमा बढुवा हुँदाको वरिष्ठतालाई आधार मानेर आइजिपी नियुक्त गर्‍यो ।

 

को हुन् सर्वेन्द्र ?  

२९ माघ ०४६ मा सर्वेन्द्र प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनीसँगै सेवा प्रवेश गरेका राजेन्द्रमान श्रेष्ठ प्रहरी निरीक्षकको तालिमपछि एक नम्बरमा आए । डिएसपीमा बढुवा हुँदा भने रमेश खरेल एक नम्बर भए । त्यसपछि वरिष्ठतामा श्रेष्ठ थिए । खनालको रोलक्रम तेस्रोमा थियो ।

 

डिएसपीबाट एसपीमा बढुवा हुँदा पनि खरेल नै अघि भए । जब महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा खनाल आए, त्यसपछि उनको कामको चर्चा हुन थाल्यो । त्यसवेला काठमाडौंमा गुन्डा नाइकेको जगजगी थियो । गुण्डाविरुद्ध अप्रेसन चलाएर खनाल चर्चामा आए ।

 

एसपीबाट एसएसपीमा बढुवा हुँदा पनि खरेल नै अघि थिए । त्यसपछि भने उनी विभिन्न विवादमा मुछिए । त्यसमध्ये श्रीमतीका नाममा सुराकी रकम लिने घटना चर्चामा रह्यो । उनले माथिल्ला प्रहरी अधिकृत ब्रिफकेस बोकेर बढुवाका लागि नेताकहाँ धाउने गरेको भन्दै सार्वजनिक रूपमै भने ।

 

त्यसपछि उनको करिअरमा बादल लाग्न थाल्यो । उनी संयुक्त राष्ट्रसंघको सुडान मिसनमा गए । त्यही वेला खनालले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको नेतृत्व सम्हाले ।

 

यो जिम्मेवारीमा छँदा उनले फुटबलमा म्याच फिक्सिङको अप्रेसन गरे । फुटबलका राष्ट्रिय खेलाडी म्याच फिक्सिङमा संलग्न रहेको भन्दै जेल हाले । त्यसलगत्तै चर्चित डन कुमार घैँटेको इन्काउन्टर गरे ।

 

उनको करिअरले उचाइ लियो । एसएसपीबाट डिआइजीमा बढुवा हुँदा खरेललाई पछि पार्दै एक नम्बरमा बढुवा भए । अन्ततः यही आधारमा उनलाई सरकारले नेपाल प्रहरीको २५ औँ आइजिपीका रूपमा छान्यो  । याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।

सर्वेन्द्र खनाल आइजिपीमा नियुक्त

विशेष