News देश

पूर्वप्रधानन्यायाधीश पराजुलीको पेन्सनपट्टामा अन्यौल

पूर्वप्रधानन्यायाधीश पराजुलीको पेन्सनपट्टामा अन्यौल

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टामा अन्यौलता देखिएको छ।

 

निजामती किताबखानाले पराजुलीको पेन्सनपट्टा बनाउँदा चाहिने अवकासको मितिबारे स्पष्ट पार्न न्यायपरिषद् र सर्वोच्च अदालत प्रशासनलगायत कार्यालयलाई चिठी काटेको छ।

 

चैत १ गते प्रधानन्यायाधीशबाट राजीनामा दिएका पराजुलीले आफ्नो पेन्सनपट्टा बनाउन निजामती किताबखानामा केही समयअघि निवेदन दिएका थिए। न्यायपरिषद्ले पनि उनको पेन्सनपट्टा बनाइदिन चिठी लेखेको थियो।

 

परिषद् र पराजुलीका निवेदनमा छुट्टाछुट्टै विवरण देखिएपछि  प्रधानन्यायाधीशको उमेर कायम गर्ने निकायहरूमा चिठी काटिएको किताबखानाका निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए।

 

न्यायपरिषद्ले पराजुलीको अवकास मिति २०७४ साल साउन २१ गते भएको नयाँ तथ्य भेटिएको भन्दै पेन्सनपट्टा सोही अनुसार बनाइदिन चिठी लेखेका थियो।

 

पराजुलीले भने आफूले चैत १ गते राष्ट्रपतिसमक्ष राजीनामा दिएकाले त्यो दिनसम्म आफ्नो सेवाअवधि भएको जिकिर गरेर निवेदन दिएका थिए।

 

किताबखानाले सोधेर पठाएकामा आफूले साउन २१ सम्मै पराजुलीको पदावधि भएको जवाफ फेरि पनि पठाइसकेको न्यायपरिषद् सचिव नृपध्वज निरौलाले जानकारी दिए।

 

न्यायाधीशहरूको सम्पूर्ण विवरण परिषद्ले राख्ने भएपनि पेन्सनपट्टा भने निजामती किताबखानाले नै बनाइदिने गरेको छ।्र

 

आफूले सोधेका सबै निकायबाट जवाफ नआइसकेकाले पराजुलीको पेन्सनपट्टाबारे कुनैपनि निर्णय नगरेको किताबखानाका निर्देशक पराजुलीले बताए।

गोपाल पराजुली पूर्वप्रधानन्यायाधीश पेन्सनपट्टा

विशेष