News रोजगार

प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको तयारी, खुलापछि मात्र आन्तरिक प्रतिस्पर्धा

प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको तयारी,  खुलापछि मात्र आन्तरिक प्रतिस्पर्धा

काठमाडौं । अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन निर्धारण गरिएको परीक्षा चार पटकसम्म स्थगन भएपछि शिक्षा मन्त्रालयले अस्थायीका मुद्दा थाती राखेर पहिलो चरणमा खुला प्रतिस्पर्धाबाटै शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ। 

 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यसबारे आन्तरिक तयारी भइरहेको बताएका छन्। शिक्षा ऐनको आठौं र नवौं संशोधनको प्रावधानअनुसार शिक्षक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाबाट नियुक्तिका लागि यही चैत २३ गतेलाई परीक्षा तोकेको थियो। 

 

आन्तरिक प्रतिस्पर्धाको प्रावधान खारेजी गरिनुपर्छ भन्ने विद्यार्थीको समूह र आन्तरिक प्रतिस्पर्धामा सबै अस्थायी शिक्षकलाई सहभागी गराउनुपर्छ भन्ने अस्थायी शिक्षकका एक समूहका दबाबका कारण सो मितिको परीक्षा स्थगन गरिएको थियो। 

 

चैत २३ अघि पनि अस्थायी शिक्षकका लागि तीन पटक परीक्षाको मिति तोकिएको थियो। तर, शिक्षक आन्दोलनलगायत समस्याका कारण ती सबै मितिको परीक्षा स्थगन भएको थियो। 

 

अहिले आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन १६ हजार शिक्षक तयारी अवस्थामा छन् भने खुला प्रतिस्पर्धामा सहभागी भएर शिक्षण पेसामा सहभागी हुन शिक्षण अनुमति (लाइसेन्स) लिएर बसेका विद्यार्थी सात लाख हाराहारीमा छन्। 

 

फरक–फरक समूहका शिक्षक र विद्यार्थी आआफ्नै माग राखेर आमरण अनशनमा बस्न थालेपछि मन्त्रालयले अस्थायीलाई आन्तरिक प्रतिस्पर्धा नगराई नयाँ पुस्ताका विद्यार्थी र अस्थायी शिक्षकलाई पनि परीक्षामा सहभागी हुने सुनिश्चितता गराएर खुला प्रतिस्पर्धामा सहभागी गराउन लागेको हो।

 

खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट भएपछि मात्र अस्थायीलाई आन्तरिक प्रतिस्पर्धा गराउनेगरी काम अघि बढाइएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।, याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।

शिक्षक नियुक्ति

विशेष