विदेश

मोदीको दलका एक सांसदविरुद्ध बालिकालार्इ बलात्कारको आरोप, प्रहरीले सुरु गर्यो अनुसन्धान

मोदीको दलका एक सांसदविरुद्ध बालिकालार्इ बलात्कारको आरोप, प्रहरीले सुरु गर्यो अनुसन्धान

नयाँ दिल्ली  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको समाचार छ । 

 

उनीबिरुद्ध परेको उजुरीको छानबीन प्रहरीले बिहीबारबाट सुरु गरेको जनाएको छ । सो अनुसन्धानको समाचारले भारतीय मिडियामा ठूलो चर्चा पाएको पनि नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । 

 

भारतीय जनता पार्टीको उत्तर प्रदेशका राज्यसभा सांसद कुलदिप सिंह र उनका एकजना भाइ विरुद्ध एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । 

 

त्यससम्बन्धी उजुरी परेकोले प्रहरीले बिहीबारबाट उक्त फाइल अध्ययन गरेको जनाएको छ । तर प्रहरी भने कानुनी रुपमा के कसरी अनुसन्धान अघि बढाउने भन्ने बारेमा त्यति स्पष्ट देखिएको छैन । 

 

एकाउन्न वर्षीय सांसद सिंह सो प्रदेशको एकजना शक्तिशाली राजनीतिज्ञ हुन् । सोही कारण प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन पनि नसकेको भन्दै आलोचना भएको थियो । 

 

उक्त प्रदेशका मुख्यमन्त्रीले उनलाई नियन्त्रणमा लिन अनुमति नदिएसम्म प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्न पनि सकेको छैन । 

 

उत्तर प्रदेशका प्रहरी प्रमुख ओमप्रकाश सिंहले भने– सांसद सिंहका विरुद्धमा बालिका बलात्कारको मुद्दा परेको छ र यसमा अब प्रहरी कसरी अघि बढ्ने भन्ने बारेमा हामी सल्लाह गरिरहेका छौँ । 

 

गतवर्षको जुन महिनामा ती बालिकालाई अपहरण गरी बलात्कार गरिएको बताइएको थियो । पछि अनुसन्धानका क्रममा प्रहरीले ती सांसदलाई नियन्त्रणमा लिन सकेको थिएन । 

 

गतहप्तामात्र ती बालिकाको बुवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो र निर्घात कुटपिट गरेको बताइएको थियो । प्रहरीको कुटपिटबाटै ती बालिकाका बुबाको प्रहरी हिरासतमै निधन भएको छ । 

 

ती बालिकाले आफ्ना बुबालाई प्रहरीले ती सांसदका विरुद्धको मुद्दा फिर्ता लिन दबाब दिएको र प्रहरीकै कुटाइबाट निधन भएको भन्दै गत शनिबारमात्र उत्तर प्रदेशका मुख्यमन्त्रीको निवासअघि आत्मदाह गर्ने प्रयास गरेकी थिइन । 

 

यो घटनाले भारतीय सञ्चारमाध्यममा ठूलो चर्चा पाएको छ । उनीहरुले प्रहरीले पीडितलाई न्याय दिनुको सट्टा उल्टै पीडा दिएको भनी समाचार प्रकाशन, प्रशारण गरेका छन् । 

 

भारतमा यस्ता बलात्कारका घटनामा वर्षेनी बृद्धि भइरहेको बताइन्छ । पछिल्लो वर्षमात्र अर्थात् सन् २०१७ मा मात्र कम्तीमा पनि ४० हजार बलात्कारका घटना दर्ता भएका छन् । 

नरेन्द्र मोदी बलात्कार भारत

विशेष