News

क्रसर उद्योगमा आगजनी करोडौंको क्षति

क्रसर उद्योगमा आगजनी करोडौंको क्षति

काभ्रे । नमोबुद्ध नगरपालिका –६ मा रहेको ब्लु साइन रोडा ढुंगा उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ ।

 

कांग्रेस नेता कुन्साङ लामाले सञ्चालन गरेका उद्योगमा शुक्रबार राति १२ बजे ८, ९ जनाको समूहमा गएका व्यक्तिहरुले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सहकुल थापाले जानकारी दिए ।

 

प्रहरीका अनुसार आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको छ भने अन्य ६ वटा ट्रिपर तोडफोड भएका छन् । 

आगजनी र तोडफोडबाट झण्डै १० करोडको क्षति भएको जनाइएको छ ।

 

ब्लु साइन रोडा ढुंगा उद्योग जाने बाटोमा राखिएको बम भने नेपाली सेनाले निष्क्रिय पारेको छ । चौकीडाँडा –सिपाली जाने बाटोको प्रवेशद्वार चौकीडाँडा, दाप्ता खोलामा भेटिएको प्रेसरकुकर बम सेनाले निष्क्रिय पारेको एसपी थापाले जानकारी दिए ।

 

घटनामा विप्लव माआवादी संलग्न भएको आशंका गरिए पनि अहिलेसम्म घटना कसले गरायो भन्ने थाहा नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विशेष