गगनको नयाँ बर्से अभियान : ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अभियान'
कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद् गगनकुमार थापाले ‘म बन्छु जिम्मेवार ; कर्तव्यसँगै अधिकार’ अभियान शुरु गरेका छन् । नयाँ वर्षको अवसर पारेर थापाले आफ्नो निर्वाचन क्षेत्रमा अभियान थालेका छन् ।
शनिबार आयोजित एक कार्यक्रमका बीच शताब्दी पुरुष सत्यमोहन जोशीले अभियानको शुभारम्भ गरे ।
शताब्दीपुरुष जोशीले काठमाडौं–४ मा शुरु गरिएको अभियानको प्रशंसा गर्दै मेचीदेखि महाकालीसम्मका स्थानीय सरकारलाई यसको अनुशरण गर्न सुझाए ।
कतव्र्यसहितको अधिकार बोध गराउने अभियानलाई सबैले मनन गरे देश बन्ने विश्वास जोशीले व्यक्त गरे । सांसद् थापाले नयाँ वर्षलाई कर्तव्यको वर्ष बनाउन आह्वान गर्दै वर्षभरि आफ्ना गतिविधिलाई अधिकारभन्दा कर्तव्यको दृष्टिकोणबाट हेर्न आग्रह गरे ।
कुनै पनि धर्मले कर्तव्यबिनाको अधिकारलाई नमान्ने चर्चा गर्दै उनले कर्तव्य पूरा गर्ने मात्रै अधिकारको हकदार हुने तर्क गरे । अधिकारप्रति म जति सचेत रहन्छु, कर्तव्यप्रति पनि त्यति नै सचेत रहने छु भन्ने सोच र अठोट नयाँ वर्षका अवसरमा लिन उनले आग्रह गरे ।
अभियानलाई कुनै राजनीतिक दल, संस्थाको मात्र नभई सम्पूर्ण जिम्मेवार नागरिकको अभियानका रुपमा लिन थापाले आह्वान गरे । यो वर्षभरि आफ्नो निर्वाचन क्षेत्रमा ‘हरेक महिना एक बिहान, समुदायको लागि श्रमदान’ कार्यक्रम संचालन गरिने जानकारी थापाले बताए ।
अभियानअन्तर्गत पहिलो दिन आज ज्ञानेश्वरदेखि चाबहिलसम्म बृहत् सरसफाइ गरिएको छ ।
गगन थापा