उत्तर कोरियाली नेता किम र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच भेटवार्ता
उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिस्ट पार्टीका एक वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन् ।
उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिस्ट पार्र्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ नेतृत्वको टोलीले उनसँग भेटवार्ता गरेको हो ।
उक्त उच्चस्तरीय भेटका क्रममा दुई देशको आपसी सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल भएको उत्तर कोरियाली समाचार समिति, केसीएनएले जनाएको छ ।
उत्तर कोरियाली नेता उनले केही हप्ताअघि चीनको अप्रत्याशित भ्रमण गरी राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गरेका थिए । उनीहरुको भेटवार्ताको विषयलाई लिएर अमेरिकालगायत देशले चासो व्यक्त गरेका थिए भने विश्वभर नै चर्चाको विषय बनेको थियो ।
पछिल्लो समयमा उत्तर कोरिया अन्तर्राष्ट्रिय सम्बन्ध विकासको काममा केही उदार देखिएको छ । आणविक क्षेप्यास्त्रको बारम्बार परीक्षणका कारण विश्व समुदायबाट अलग्गिएको उत्तर कोरिया यतिखेर भने भेटवार्ताको कूटनीतिमा अग्रसर भएको चर्चा सुरु भएको छ ।