News मनोरञ्जन

नवीनले झुमाए फिक्कलबासीलाई

नवीनले झुमाए फिक्कलबासीलाई

इलाम । आयोजकहरुले दोश्रो सूर्योदय सडक महोत्सवको औपचारिक कार्यक्रम समापन गरिसकेता पनि नगरबासीहरु भने आइतबार साँझ पनि फिक्कल बजारमा भेला भइरहेका थिए ।

 

सधैं ७ बजे नै सुनसान हुने फिक्कल बजार २÷३ दिन ११ बजेसम्म व्यस्त रह्यो । अझ आइतबार त मेची राजमार्गमा खुट्टा राख्ने ठाँउसमेत थिएन । नगरबासीहरु भेला हुनुको कारण थियो महोत्सवको मुख्य आर्कषण नवीन के भट्टराई र अतृप्त व्यान्डको बाँकी प्रस्तुति ।

 

स्थानीय र झापाका ब्यान्डको प्रस्तुति हेरिरहका दर्शकहरुले जब साँझको साढे ८ बज्यो एक्कासि नवीन के भट्टराई स्टेज प्रवेश गरेपछि सिट्टी र तालीले स्वागत गरे । स्टेज प्रवेश गर्दै नवीन के भट्टराईले आफनो प्रस्तुति दिन थाले । 


दर्शकहरुलाई जोस्याँदै भट्टराईले, ‘आफूले माया गरेको मान्छे जति टाढा हुन्छ उति यादहरुले जीवन फिक्का हुँदो रहेछ’ भन्दै ‘फिक्का छ फिक्का छ तिमी बिना यो जिन्दगी’ गाए । त्यस्तै ‘राति कहिलेकाहीँ आफ्नो मायालुको याद आउँछ है’ भन्दै ‘फेरि तिमीलाई सम्झेर’ गाए ।

 

खै त हात माथि अब नाच्नुपर्छ लेट्स गो भन्दै ‘तिमीलाई मन पराउँछु भन्न त भन मलाई’ ‘डर लाग्छ तिम्रो मेरो साथ छुटने हो कि’, ‘सायद तिमी नै हौ मेरो धडकन सायद तिमी नै हौ भविष्य र  दुनियाँको आँखा लाग्ला तिम्रो रुपमा’ ‘तिमी हौ लाखौंको धडकन म पनि हुँ एक हजारौंमा’ लगायत प्रस्तुति दिए ।  

 

भट्टराईले स्टेजमा दिएका अनेकौं पोजहरुमा दर्शक झुमिरहेका थिए । दर्शकहरुलाई विगत स्मरण गराँउदै भट्टराईले १८ वर्षअघि इलाम आउँदा गाएको गीत गाउँछु भन्दै ‘साँझपख एकान्तमा आफैंलाई र्बिसिँदा’ गाउँदै गर्दा उनलाई स्रोताले साथ दिए ।

 

उनी तथा उनको ब्यान्डले करिब डेढ घण्टा एक दर्जन गीतबाट सूर्योदय नगरबासीहरुलाई झुमाए । त्यसअघि स्थानीय ब्यान्डहरुले समेत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
 

नवीन ब्यान्ड

विशेष