News मुख्य समाचार

कैलालीमा विद्यार्थी भर्ना अभियानको डरलाग्दो रूप : साढे ४ हजार विद्यार्थी विद्यालयबाहिर

कैलालीमा विद्यार्थी भर्ना अभियानको डरलाग्दो रूप : साढे ४ हजार विद्यार्थी विद्यालयबाहिर

कैलाली । हरेक नयाँ शैक्षिक सत्रमा सरकारले भर्ना अभियान चलाउँदै आए पनि कैलालीमा विद्यालय जाने उमेरका करिब चार हजार पाँच सय बालबालिका विद्यालयबाहिर रहेको पाइएको छ ।

 

जतिसुकै प्रयास गरे पनि विद्यार्थीहरु विद्यालयको पहुँचमा आउन नसकेका र विद्यालयबाहिरै रहन बाध्य भएका जिल्ला शिक्षा कार्यालय कैलालीले जानकारी दिएको छ ।हाल विद्यालय आइरहेका कुल संख्याको तीन प्रतिशत उमेर पुगेका बालबालिका विद्यालय नआएका विद्यालय निरीक्षक लोकेद्रप्रसाद भट्टले जानकारी दिए ।

 

जिल्लाभरि रहेका ५ सय ७२ वटा सामुदायिक विद्यालयमा करिब एक लाख ५० हजार विद्यार्थी एक देखि १२ कक्षामा अध्ययनरत छन् । यसैगरी, ८० हजारको हाराहारीमा बालबालिकाहरु संस्थागत विद्यालयमा अध्ययनरत छन् । कैलालीमा संस्थागत विद्यालयको संख्या ३ सय ४८ रहेको छ ।

 

विद्यालय जाने उमेरका शतप्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने उद्देश्य रहे पनि अहिलेसम्म पूरा हुन नसकेको विद्यालय निरीक्षक भट्टले बताए । उनले भने, ‘तर, हरेक वर्ष विद्यालयबाहिर रहेका बालबालिकाको संख्या घट्दै गएको छ’, विद्यालयबाहिर रहेका बालबालिको संख्या ०.५ प्रतिशतमा मात्रै पनि झार्न सकियो भने ठूलो उपलब्धि हने भट्टले बताए ।

 

पछिल्लो पटक कैलालीमा विद्यालयबाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयको पहुँचमा ल्याउनुभन्दा पनि सरकारी विद्यालयमा रहेका विद्यार्थीहरुलाई टिकाउनु चुनौती सावित भएको छ ।

 

हरेक शैक्षिक सत्रमा विद्यार्थीले विद्यालय छोड्ने क्रम बढेकाले उनीहरुलाई विद्यालयमा टिकाइ राख्न चुनौती देखिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।  केही वर्ष यताको शैक्षिकसत्रमा विद्यार्थीले वार्षिक परीक्षाअगावै विद्यालय छोड्ने क्रम बढेको विद्यालय निरीक्षक भट्टले बताए ।

 

जिशिकाका अनुसार शैक्षिक सत्र २०७३ मा प्राथमिक तहबाट सबैभन्दा बढी ५ प्रतिशत विद्यार्थीले वार्षिक परीक्षा अगावै विद्यालय छोडेका थिए । निमावि तहमा अध्ययनरत ४.८ र मावि तहमा पढ्ने ४.३ प्रतिशत विद्यार्थीले वार्षिक परीक्षा नदिएर विद्यालय छोडेका थिए ।

 

अध्ययनकै क्रममा ‘ड्रप आउट’ हुने विद्यार्थी प्रतिशत पनि डरलाग्दो रुपले बढिरहेको विद्यालय निरीक्षक भट्टले बताए । शिक्षाको पहुँच बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउने उद्देश्यले आइतबारदेखि देशव्यापी विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ ।

 

नियमित कार्यक्रमअन्तर्गत यहाँ पनि विद्यार्थी भर्ना अभियान सुरु गरिएको हो । दुई चरणमा छुट्टयाइएको विद्यार्थी भर्ना कार्यक्रमअन्तर्गत वैशाख २ देखि १४ गतेसम्म विद्यालय भर्ना भएका विद्यार्थीहरुलाई फूल, अबिरले स्वागत गर्ने र पुस्तक प्रदान गरिने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

 

यसैगरी, यही अवधिमा शिक्षक, अभिभावक, जनप्रतिनिधिलगायत सरोकारवालाहरुले विद्यार्थी भर्नाका लागि एक आपसमा समन्वय र सहयोग गर्ने जनाइएको छ । द्यार्थी भर्ना कार्यक्रमको दोस्रो चरणअन्तर्गत वैशाख १५ देखि ३० गतेसम्म विद्यालयहरुले आफ्नो पकड क्षेत्रमा घरदैलो गरेर बालबालिकाहरुलाई विद्यालयमा ल्याउन पहल गर्ने विद्यालय निरीक्षक भट्टले जानकारी दिए ।

 

विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्न विभिन्न सरोकारवाला निकायले पनि सहयोग गर्ने उनले जानकारी दिए । यसका साथै विद्यालयहरुमा नयाँ विद्यार्थीहरुलाई आकर्षण गर्न विविध कार्यक्रम पनि हुनेछ ।

 

विद्यार्थीहरुका लागि पर्याप्त पाठ्यपुस्तक आइपुगेकाले उनीहरुलाई भर्ना भएकै दिन पुस्तक उपलब्ध गराइने जनाइएको छ । विगत वर्षमा विद्यार्थीले समयमै पुस्तक पाउन नसके पनि यो वर्ष त्यस्तो समस्या नआउने विद्यालय निरीक्षक भट्टले दाबी गरे । ‘कैलालीका लागि पर्याप्त पाठ्यपुस्तक आइपुगेको छ’, उनले भने, ‘नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीहरुलाई हातहातै पाठ्यपुस्तक प्रदान गरिनेछ ।’

भर्ना अभियान डरलाग्दो रूप

विशेष