अन्तरवार्ता भिडियो कभर स्टोरी राजनीति

प्रचण्डले पचास प्रतिशतको दावी गर्न मिल्दैन (भिडियोसहित)

प्रचण्डले पचास प्रतिशतको दावी गर्न मिल्दैन  (भिडियोसहित)

काठमाडौं । वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले राजनीतिक स्थिरताका लागि एमाले र माओवादी केन्द्रबीच एकता हुनै पर्ने बताएका छन् । नेपालआजसँगको भिडियो अन्तर्वार्तामा अधिवक्ता कार्कीले दुई पार्टीबीच एकता नहुने कुनै सम्भावना नरहेको बताए । उनले भने, ‘दुई पार्टीबीच एकता अब राष्ट्रकै आवश्यकता बनिसकेको छ ।’

 

एमाले र माओवादीबीच एकता भएपछि एक बलियो शक्ति केन्द्र निर्माण हुने उनको विश्वास छ ।

 

माओवादी र एमालेबीचको एकता दीगो हुन्छ कि हुँदैन भन्ने आशंका रहे पनि देशको लागि एकता आवश्यक रहेको उनले स्पष्ट पारे । कम्युनिष्ट पार्टीहरु आवश्यकताले जोडिने र आवश्यकताले नै टुट्ने गरेको उनको भनाइ छ ।

 

जनताको चाहनाअनुसार राष्ट्रियता बलियो बनाउन पनि एमाले माओवादीबीच एकता हुनु पर्ने उनले स्पष्ट पारे । हालको एकताको प्रक्रिया लहड नभएको  र पूर्ण प्राकृतिक हुने उनको तर्क छ ।


एमाले र माओवादीको वैचारिक, शैद्धान्तिक मत फरक छ । तर नेपालका कम्युनिष्टहरुमा तीन खालको धार छ । एक उग्रवामपन्थी, दोस्रो सन्तुलित धार र तेस्रो दक्षिणपन्थी धार । एमाले र माओवादी दुवैको पृष्ठभूमि उग्रवादी धार हो ।

 

एमाले नक्शलवादबाट प्रेरित, माओवादी माओवादबाट प्रेरित भएका हुन् ।

 

माओवादीको जनयुद्धलाई महान भन्ने कि नभन्ने विषयमा एमालेभित्र विवाद छ । जनयुद्ध नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण घटना हो । यसमा नकारात्मक र सकारात्मक दुवै पक्ष छन् ।

 

कति राम्रो कति नराम्रो भन्ने मूल्यांकन हुन बाँकी छ । मालेको पनि झापा विद्रोहको मूल्यांकन हुन बाँकी  छ । माओवादीले जनयुद्ध नै सबैकुरा हो भन्नु हुँदैन । एमालेले पनि झापा विद्रोह नै सबै हो भन्नु ठिक होइन ।

 

एकतामा जाँदा दुवै पार्टीका नेताहरुले आफ्नो स्थान सुरक्षित राख्न विभिन्न शर्तहरु राख्छन् । तर प्रतिशतका आधारमा एकताको कुरा राख्नु ठिक होइन । प्रचण्डले ५० – ५० प्रतिशतको माग राख्नु ठिक नभएको कार्की बताउँछन् ।

 

प्रेस काउन्सिका पूर्वअध्यक्षसमेत रहेका कार्कीले कुराकानीका क्रममा नेकपा एमाले र माओवादीका केन्द्रका शुभेच्छुकका रुपमा उनले एकताको पक्षमा अभिव्यक्ति दिए । उनले पार्टी एकताको विरुद्धमा लाग्नेहरु आफै समाप्त भएर जाने बताए ।

वोर्णबहादुर कार्की प्रचण्ड वाम एकता

विशेष