News राजनीति

एमाले स्थायी कमिटी बैठकअघि ओली–प्रचण्ड छलफल

एमाले स्थायी कमिटी बैठकअघि ओली–प्रचण्ड छलफल

काठमाडौं । आइतबार भोटेकोसी किनारको सुकुटे पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्कंदै छन्। काठमाडौं आएपछि उनी सीधै प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम छ ।

 

पार्टी एकताको विषयमा पछिल्लो समय देखिएको असमझदारी हटाउन र दुई पार्टीबीच देखिएको दूरी कम गर्न दुई शीर्ष नेताबीच छलफल हुन लागेको प्रधानमन्त्री केपी ओली निकटका एक नेताले बताए।

 

पार्टी एकता गर्ने भनेर सार्वजनिक गरिएको मिति नजिकिँदै जाँदा असमझदारी देखिन थालेपछि अध्यक्षहरु नै बसेर विवादका विषय टुंगो लगाउने तयारी गरेका हुन् ।

 

गत चैत्र २२ मा बसेको वाम गठबन्धन पार्टी एकता संयोजन समितिको बैठकले बैसाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो। तर पछिल्लो समय दुवै पार्र्टीका नेताहरुले बैसाख ९ मा पार्टी एकता नहुने आशयका अभिव्यक्ति दिन थालेका छन्।

 

माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा बराबरी हिस्सा खोजेपछि पछिल्लो असमझदारी सतहमा आएको थियो। त्यसका साथै एकीकृत पार्टीमा नेताहरुको व्यवस्थापनलाई लिएर माओवादीभित्र असन्तुष्टि देखिएको छ ।

 

पार्टीभित्रको असन्तुष्टि बाहिर आउन थालेपछि प्रचण्ड दबाबमा छन्। त्यस्तै एकीकृत पार्टीको चुनाव चिह्न, जनयुद्ध र जबजको विषयमा पनि समझदारी बनिसकेको छैन आज हुने दुई अध्यक्षबीचको बैठकले पछिल्ला असमझदारीको अन्त्य हुन सक्ने ती नेताले बताए । 

 

त्यस्तै, आजै एमाले स्थायी कमिटी बैठक पनि बोलाइएको छ । दुई अध्यक्षबीचको वार्ता सकिएपछि एमाले बैठक बस्न लागेको हो । बैठक बालुवाटारमै बस्नेछ ।

पार्टी एकता

विशेष