News प्रदेश ३

हनुमन्ते खोला सफाइका नाममा ६७ लाख भ्रष्टाचार

हनुमन्ते खोला सफाइका नाममा ६७ लाख भ्रष्टाचार

काठमाडौं । भक्तपुरको हनुमन्ते खोलामा माटो निकाली सफाइ गर्ने नाममा ६७ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको पाइएको छ। 

स्थानीय निकाय आर्थिक प्रशाासनसम्बन्धी नियमावली, २०६४ को नियम ७८ अनुसार २० लाखभन्दा बढीको सेवा खरिद गर्दा बोलपत्रका माध्यमबाट गर्नुपर्ने व्यवस्थाविपरीत सिधै ठेक्का दिई अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। महालेखाले भक्तपुर नगरपालिकाका प्राविधिकलाई कारबाही गर्न समेत भनेको छ।  

 

महालेखा कार्यालयको ५५औं प्रतिवेदनमा हनुमन्ते खोलामा ११ हजार १ सय ३६ घनमिटर माटो वा ग्रेगर निकाल्न उक्त रकम अनियमितता भएको उल्लेख छ।

 

हनुमन्ते खोला सफाइ गर्न प्रतिघनमिटर ३ सय ६३ रुपैयाँ ६४ पैसाका दरले ४० लाख ५० हजारको लागत अनुमान स्वीकृत गरी २०७३ कात्तिक २७ मा बोलपत्र आहवान भएको थियो।

 

तर, उक्त बोलपत्रमा कुनै पनि आवेदन दर्ता भएनन्। बोलपत्र नपेरको भन्दै पुनः मंसिर ३० मा माटो निकाल्न ४ हजार ६ सय ५६ र ढुवानी गर्न १ हजार ५ सय २३ रुपैयाँ प्रतिघनमिटरका दरले नयाँ लागत दर तयार गरिएको थियो।

 

सुरुमा माटो निकाल्न र ढुवानी गर्न प्रतिघनमिटर एकमुस्ट ३ सय ६३ रुपैयाँ ६४ पैसा दर कायम गरेकोमा पछि निकाल्न र ढुवानी गर्न ६ हजार १ सय ७९ रुपैयाँ दर स्वीकृत गरी सुरु स्वीकृत दरभन्दा १७ गुणा बढी कायम गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

 

मिलेमतामा भ्रष्टाचार गर्न यसरी दर कायम गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। पहिलो र दोस्रो पटक अस्वाभाविक लागत दर तयार गर्ने सम्बन्धित प्राविधिकलाई आवश्यक कारबाही गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ।

 

पुनः लागत अनुमान तयार गरेपछि बोलपत्र आहवान गर्नुपर्नेमा नगरपालिकाले ७ दिने सूचना जारी गरी घटी दर पेश गर्ने एक आपूर्तिकर्ताको माटो निकाल्न ४ हजार र ढुवानी गर्न १ हजार ५ सय रुपैयाँ प्रतिघनमिटर दरलाई स्वीकृत गरी सिधै कार्यादेश दिएको थियो।

 

सोअनुसार १६ हजार ९ सय ८८ घनमिटर माटो निकाली ढुवानी गरेको भनी ६७ लाख ४ हजार रुपैयाँ भुक्तानी दिएको थियो।

 

शुरु बोलपत्र गर्दाको परिमाण र दरसमेत परिवर्तन गरेको अवस्थामा पुनः बोलपत्र गर्नुपर्नेमा सो नगरी सिधै काम गराई भुक्तानी दिएको ६७ लाख ४ हजार रुपैयाँ अनियमित भएको महालेखको प्रतिवेदनले जनाएको छ।

हनुमन्ते खोला ६७ भ्रष्टाचार

विशेष