कांग्रेस आएका लोकतान्त्रिक फोरमका कार्यकर्ता असन्तुष्ट
काठमाडौं । लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको छ महिना बितिसक्यो। तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन्।
केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन्। कतिपय स्थानीय नेता अन्य दलमा प्रवेशसमेत गर्न थालेका छन्।
दुई पार्टी एकीकरण हुँदा उपस्थितिका आधारमा केन्द्रदेखि तल्लो तहसम्म नेता–कार्यकर्तालाई निर्वाचनलगत्तै उपयुक्त स्थान दिने सहमति भएको थियो। गत असोज ३० मा पार्टी एकीकरण घोषणासभामा जारी विज्ञप्तिमै यो कुरा स्पष्ट पारिएको थियो।
तर, निर्वाचन सकिएको लामो समयसम्म पनि समायोजनको प्रक्रिया सुरु नभएपछि फोरमका नेता–कार्यकर्ता आक्रोसित भएको तत्कालीन लोकतान्त्रिक फोरमका महामन्त्री योगेन्द्र चौधरीले बताए।
‘लामो समयसम्म पनि कुनै जिम्मेवारी नपाएपछि जिल्लास्तरका साथीहरू आ–आफ्नो बाटो लाग्ने क्रम सुरु भएको छ,’ चौधरीले भने, ‘यसले जुन अपेक्षाका साथ लोकतान्त्रिक फोरम र कांग्रेसबीच पार्टी एकीकरण भएको थियो, त्यो अपेक्षा पूरा नहुने सम्भावना बढेको छ।’ याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।