News राजनीति प्रदेश २

वाम एकता पार्टीभित्र वा बाहिरका कुुनै शक्तिले रोक्न सक्दैन : नेपाल

वाम एकता पार्टीभित्र वा बाहिरका कुुनै शक्तिले रोक्न सक्दैन : नेपाल

महोत्तरी।एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले माओवादी केन्द्रबीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् । 

महोत्तरीको बर्दिवासमा आज नेकपा एमाले बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभई एमाले र माओवादी केन्द्रकै कुनै नेताको लहडले पनि एकीकरण नटर्ने बताए । 



“दुवै कम्युनिष्ट पार्टीबीच एकीकरणको कुरा अब घोषणा हुन् मात्र बाँकी छ”, उनले भने । दुवै पक्षका नेताहरुको व्यस्तताका कारण एकीकरणको कामले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो । वैशाखभित्रै एकीकरण घोषणा भइसक्ने पनि उनले दाबी गरे । 

“दुवै पक्षका कार्यकर्ता र जनता एकीकरण पर्खेर बसेका छन्”, नेपालले भने , “यो पर्खाइ अब खेर जाँदैन ।” 

प्रदेश २ को विकास र समृद्धिका लागि वामगठबन्धन र वर्तमान सरकारले योजनाबद्ध काम थाल्ने नेता नेपालले बताए । “हामी निकट भविष्यमै प्रदेश २ मा बृहत् उद्यम भेलाको आयोजन गर्दैछौँ”, उनले भने ।

 

प्रदेश २ को विकासका लागि सङ्घीय सरकार प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको नेपालको भनाइ थियो । 

नेता नेपालले बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालय पुगेर आर्थिक रुपले कमजोर दुई बालबालिकालाई विद्यालय भर्ना गराई स्वैच्छिक अभिभावकत्व लिएका छन् ।

 

औरही–१ की सात वर्षीया सवनम खातुन र बर्दिवास–१४ का पाँच वर्षीय कृष्ण महराको अभिभावकत्व उनले लिएका हुन् । सबनम कक्षा एकमा तथा कृष्णलाई बाल कक्षामा भर्ना गरिएको छ । 
 

विशेष