News सफलताको कथा

१४०० मिटर अग्लो सुक्खा डाँडाबाट खानेपानी

१४०० मिटर अग्लो सुक्खा डाँडाबाट खानेपानी

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित कोल्टा डाँडामा डिप बोरिङमार्फत खानेपानी निकालिएको छ । 

 

वडा कार्यालयको रु ३१ लाखको लगानीमा २५ किलोभोल्टको विद्युत ट्रान्सफर्मरको सहायताले जमिनबाट ४०२ मिटर गहिराइमा ड्रिलिङ गरी डेढ इञ्च बराबरको स्वच्छ पानी निकालिएको हो । 

 

समुद्री सतहबाट करीब एक हजार ४०० मिटर उचाइमा रहेको सुक्खा डाँडाबाट स्वच्छ पानी निस्किएपछि सो वडाका ४४२ घर परिवारलाई खानेपानीमा सहयोग पुगेको वडाध्यक्ष धु्रवराज गिरीले बताए । 

 

२०७२ सालको विनाशकारी भूकम्पले जिल्लाका धेरै ठाउँमा पानीको स्रोत सुकेको छ । त्यसैगरी सो वडामा पनि पानीको स्रोतमा कमी आएपछि वडावासीलाई समस्या पर्दै आएको थियो । 

 

कुन उपायबाट थप पानी उपलब्ध गराउन सकिन्छ भन्ने चिन्ताले वडावासीलाई सताउन थालेको थियो । त्यसै सन्दर्भमा साविक साँगाचोक गाविसका उपाध्यक्षसमेत रहेका वडाध्यक्ष गिरीले पानी निकाल्ने प्रविधिको खोजीमा झण्डै डेढ वर्षको समय खर्चिएका थिए । 

 

राजधानीको एउटा कम्पनीको बसुन्धरा रानीरोडस्थित डिकेएच रक ड्रिलिङ कम्पनी लिमिटेडको सहायतामा काम थालनी गरिएको करीब एक महिनाको अवधिमा सफलता पाएपछि आफू निकै खुशी हुन पुुगेको गिरीले बताए । 

 

त्यहाँबाट निस्किएको पानी हाललाई स्थानीयले प्रयोग गर्दै आएको चुलीथुम्की खानेपानी आयोजनाको ट्याङ्कीमा मिसाइने कार्यक्रम छ । “पानी त निकालियो, तर ट्याङ्की सानो छ” वडाध्यक्ष गिरीले दुखेसो गरे, “बजेट अभावमा अर्को ट्याङ्की र पाइप खरिद गर्न भने सकिएको छैन ।” 

 

प्राविधिक कारण यहाँको सुक्खा डाँडामा पनि पानी निकाल्न सफल भएपछि खानेपानी अभावमा देशका कतिपय बासिन्दाले बसाइँ सर्नु नपर्ने पाठ भने अवश्य सिकाएको छ । 

सुक्खा डाँडाबाट खानेपानी

विशेष