News मुख्य समाचार प्रदेश ३

सिन्डिकेटको समर्थन गरेका व्यवसायीले कर्जा नतिरे बैंकले गाडी लिलाम गर्ने

सिन्डिकेटको समर्थन गरेका व्यवसायीले कर्जा नतिरे बैंकले गाडी लिलाम गर्ने

यातायात व्यवसायीहरुले सिन्डिकेट लाद्न नपाए बैंकको कर्जा नतिर्ने धम्की दिए पनि बैंकहरु भने आफुहरुलाई समस्या नपर्ने बताएका छन् ।

 

‘हामीले डराउनुपर्ने अवस्था छैन्, केही भएन भने गाडी लिलामी गरेरै पनि ऋण उठाउन सक्छौं,’ नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए ।

 

हालै गण्डकी धौलागिरि अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले कार्यक्रम आयोजना गरेरै सिन्डिकेटविरुद्ध सरकार उत्रिए आफूहरुले बैंकको कर्जा नतिर्ने धम्की दिएका छन् ।

 

चालु आवको आठ महिना फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले सार्वजनिक यात्रुबाहक यातायातमा १६ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यी सबै बस व्यवसायीलाई मात्र गएको कर्जा भने होइन ।

 

यो ट्याक्सी, रिक्सा जस्ता अन्य यात्रुबाहक यातायातमा समेत गएको कर्जा हो । हालै सिन्डिकेटको विरुद्धमा उत्रिएको मयुर यातायात जस्ता कम्पनीमा पनि बैंकको कर्जा लगानी छ । यिनबाट भने बैंकलाई कुनै किसिमको दबाब नपर्ने देखिएको छ ।

 

त्यस्तै, ट्रक सेवा र भण्डारण व्यवस्थापनमा १४ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी भएको छ । सरकारले सिन्डिकेट तोड्न यातायातसम्बन्धी सबै संघ, महासंघलगायतलाई नवीकरण नगर्ने बताएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

वैशाख २० गते यातायात व्यवसायीहरुले सांकेतिक बन्द गर्ने र सरकारले माग पूरा नगरे वैशाख २६ अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । सार्वजनिक बस, ट्रक, दूध बोक्ने ट्यांकीलगायत सबै यो बन्दमा सहभागी हुने भएका हुन् ।

 

हाल यातायात व्यवसायीहरुमा आधाभन्दा धेरैले घर, जग्गाको धरौटी राखेर बैंकबाट कर्जा लिएको बैंकर ढुंगानाले बताए । त्यसैले व्यवसायीहरुले कर्जा नतिरेर खराब भएमा घर जग्गाको लिलामीबाट पनि असुल्न सकिने व्यवस्था छ ।

 

केही व्यवसायीले भने व्यक्तिगत जमानीमा, यातायात संघको जमानीमा समेत कर्जा लिएका छन् । यस्ता कर्जाको बिमासमेत गरिएको हुने भएकोले बैंकहरु डराउनपर्ने अवस्था छैन । कुनै उपायबाट कर्जा उठाउन गाह्रो भएमा बैंकहरुले गाडी नै लिलाम बिक्री गरेर पनि असुल गर्न सक्नेछन् ।

यातायात सिन्डिकेट

विशेष