राजनीति भिडियो कभर स्टोरी अन्तरवार्ता

डा. रोकायाको ‘एक्सक्लुसिभ’ अन्तरवार्ताः अमेरिका-युरोप माओवादीलाई सिद्ध्याउन चाहन्थे, यसरी जाेगाएँ मैले (भिडियो)

डा. रोकायाको ‘एक्सक्लुसिभ’ अन्तरवार्ताः अमेरिका-युरोप माओवादीलाई सिद्ध्याउन चाहन्थे, यसरी जाेगाएँ मैले (भिडियो)

काठमाडौं । नेपाली राजनीतिको एक ऐतिहासिक ‘च्याप्टर’ हो माओवादीले गरेको १० वर्षे युद्ध । नेकपा माओवादी केन्द्रले अहिले त्यस इतिहासको मूलधार ओगटेको छ ।

 

माओवादी केन्द्रले भलै नेकपा एमालेसँग पार्टी एकीकरण गर्ला । तर यसका अधिकांश नेताहरु आफूले गरेको जनयुद्धको इतिहास कसैले बिर्सन नहुने बताउँछन् ।

 

माओवादीले गरेको युद्धलाई हेर्ने दृष्टिमा अझै बिमति छ । माओवादीको नेतृत्वमा भएको त्यस आन्दोलनलाई ‘जनयुद्ध’, ‘सशस्त्र बिद्रोह’, ‘हिंसात्मक आन्दोलन’ वा ‘युद्ध’ कुन रुपमा बुझ्ने भन्नेमा राजनीतिक शक्तिबीच एकमत छैन ।

 

अरु त अरु एमाले–माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया अड्काउनेमा ‘जनयुद्ध’ शब्द स्वीकार गर्ने कि नगर्ने ? भन्ने विवाद पनि एक हो ।


राजसंस्थाविरद्ध संयुक्त रुपमा आन्दोलन गर्ने शक्तिबीच त एकमत छैन भने अन्तर्राष्ट्रिय समुदाय तथा विदेशी शक्तिले माओवादीको आन्दोलनलाई कसरी बुझ्लानन् ?

 

माओवादी युद्ध र माओवादी पार्टीलाई त्यसबेला नै अन्तर्राष्ट्रिय समुदाय कसरी हेर्थे ? भन्ने कुरा चाहीँ रोचक छ ।

 

खासगरी अमेरिका, बेलायत, नर्वे, जर्मनी, बेल्जियम लगायत नेपालसँग लामो समयदेखि कुटनीतिक रुपमा जोडिएका मुलुकका प्रतिनिधिले माओवादी नेताहरुलाई कसरी हेर्थे ? यसबारे यथार्थ अझै खुलेको छैन ।

 

सबैलाई जानकारी भएको के भने, ति शक्तिहरुले माओवादीलाई लामो समयसम्म ‘आतंककारी शक्ति’को रुपमा हेरे ।

 

माओवादी नेताहरुसँग संवाद गर्नै चाहेनन् । जसले गर्दा शान्ति प्रक्रियामा माओवादीको प्रवेशको लागि निकै अप्ठ्यारो भयो ।

 

युद्धको अवधिदेखि नै माओवादी र अन्तर्राष्ट्रिय समुदायबीच सम्बन्ध स्थापित गराउने एक व्यक्ति हुन् डा. केबी रोकाया । जसले युद्ध अवधिमै माओवादीका नेताहरुलाई विदेशी कुटनीतिज्ञ तथा प्रतिनिधिहरुसँग भेट गराउँथे ।

 

तत्कालिन राज्यसत्तालाई माओवादी दबाउन भन्दै आर्थिक तथा हतियार सहायता गर्दैआएका मुलुक र विदेशी शक्तिसँग माओवादीको सम्बन्ध स्थापित गराउने प्रमुद व्यक्ति हुन् डा. रोकाया ।

 

डा. रोकायाले आफूले ‘जासुसी’शैलीमा गरेका पहल र भेटघाटबारे नेपालआजसँग सबिस्तार ब्याख्या गरेका छन् । १ घण्टा बढी लामो यस अन्तरवार्तामा डा. रोकायाले माओवादी युद्धकालिन घटना पहिलोपटक सार्वजनिक गरे ।

 

यतिसम्म कि, माओवादीले युद्ध सुरु गर्नुअघि नै डा. बाबुराम भट्टराईको पहलमा मानवअधिकारवादी संस्था स्थापना गरेको थियो । उक्त संस्थाको नेतृत्व गरेका थिए डा. रोकायाले । उक्त संस्थामार्फत डा. रोकायाले कसरी माओवादीलाई सहयोग गरे भन्नेबारे यहाँ पहिलो पटक खुलासा गरेका छन् ।


माओवादी र क्रिश्चियन
 

माओवादी र क्रिश्चियन समुदायबीच सुरुदेखि नै राम्रो सम्बन्ध थिएन । माओवादीहरु नेपाली क्रिश्चियनलाई ‘साम्राज्यवादी शक्तिका दूत’ ठान्थे ।

 

अर्कोतर्फ माओवादीले ‘धर्म मान्न दिने छैनन्’ भन्ने बुझाइ थियो क्रिश्चियन समुदायमा । डा. रोकाया स्वयं क्रिश्चियन समुदायको नेताको रुपमा पनि यी दुई शक्तिबीच सम्बन्ध सुधार्ने काम गरे ।

 

उनको दाबी अनुसार पहिलो पटक संविधानसभा निर्वाचनको बेला नेपालका लगभग सबै क्रिश्चियनले माओवादीलाई मत दिएका थिए । जसमा पनि डा. रोकायाको महत्वपूर्ण भुमिका रह्यो ।


अहिलेसम्म नखुलेको पाटो
 

माओवादी शान्ति प्रक्रियामा आएसँगै माओवादीकै सिफारिसमा मानवअधिकार आयोगको सदस्य समेत बनेका डा. रोकायाले नेपालआजसँग पहिलो पटक युद्धबारे गोप्य कुरा खुलासा गरेका छन् ।

 

डा. रोकायाले माओवादीलाई अन्तर्राष्ट्रिय समुदायसँग जोडेको सम्बन्धबारे विश्वब्यापी समाचार संस्था ‘विकिलिक्स’ले समेत उल्लेख गरेको छ ।अमेरिका र माओवादीबीच संवाद गराउने पहिलो संयोजनकर्ताको रुपमा डा. रोकायालाई विकिलिक्सले समेत उल्लेख गरेका छ ।

 

हाम्रो लामो आग्रहपछि डा. रोकायाले नेपालआजको स्टुडियोमै आएर माओवादी युद्धको अहिलेसम्म गोप्य राखिएको पाटो र त्यसमा आफ्नो भुमिकाबारे पहिलो पटक खुलासा गरेका छन् ।

 

पछिल्लो समय हिन्दुराज्यको पक्षमा सक्रिय डा. रोकायाको अन्तरवार्ताको अर्को श्रृंखला पनि हामी प्रस्तुत गर्ने छौँ । उनी कसरी माओवादीसँग टाढिए र पूर्वराजा ज्ञानेन्द्र शाहसँग कसरी नजिकिए भन्नेबारे अर्को अन्तरवार्तामा बिस्तृतमा खुलासा हुने छ । यहाँ भने उनले माओवादीको इतिहास र आफ्नो भुमिकाबारे खुलासा गरेका छन् ।
 

नेकपा माओवादी केन्द्र जनयुद्ध डा. केबी रोकाया

विशेष