News अपराध सुरक्षा मुख्य समाचार

६० वर्षीय वृद्धद्वारा ८ वर्षीया बालिका बलात्कार गरी फरार

पीडक मिलापत्र गराउने पक्षमा, नगरप्रमुख भन्छन् : जानकारी नै ढिलाे पाएँ

६० वर्षीय वृद्धद्वारा ८ वर्षीया बालिका बलात्कार गरी फरार

मोरङ । सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ की ८ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको र जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने कोशिस भइरहेको आरोप पीडित पक्षले लगाएका छन् ।

 

वैशाख २ गते दिउँसो २ बजेतिर ८ वर्षीया बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप छ । बिस्कुट दिने बहानामा घरमा बाेलाएर मगरले उनीमाथि बलात्कार गरेको पीडित पक्षको दाबी छ ।

 

ती बालिकाकी ११ वर्षीया दिदीले देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी थिइन् । त्यसपछि आमाले घटनाबारे जानकारी पाएकी थिइन् । 


बालिकालाई तत्काल वेदबारी स्वास्थ्य केन्द्रमा समान्य उपचारपश्चात् धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकाे थियो ।


घटनालगत्तै पीडित पक्षले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिए पनि प्रहरीले आरोपीलाई अझै पक्राउ गरेको छैन । घटनालाई राजनीतिक रङ दिइएको र आरोपीलाई राजनीतिक संरक्षण दिएर भगाइएको आरोप पीडित पक्षको छ ।

 

वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसिया रहेका पीडित बालिकाका बुवाले भने, ‘मेरो घरमा महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरु गएका बेला सुन्दरहरैंचाका वडाअध्यक्षले यो कुरा मिल्नमिल्न लागिसकेकोले धेरै नउठाइदिनुहोला भनेछन् ।

 

अपराधीलाई राजनीतिक संरक्षण दिएर भगाइसकिएको छ ।’घटना भएलगत्तै स्थानीय अगुवाहरुलाई घटनाबारे आमाले जानकारी गराए पनि वडाध्यक्ष चैतन्य सिटौला बाहिर भएको बताएपछि भोलिपल्ट घटनाको विषय छलफल गर्ने भनिएको थियो ।

 

तर भोलिपल्ट पीडक मगर फरार भएको पीडित बालिकाकी आमाले बताइन् । पीडितको आमाले घटनाबारे सुन्दरहरैंचा नगरपालिकाकी उपमेयरलाई समेत जानकारी गराइएकी थिइन्।


समाजका भद्रभलादमी भनिने स्थानीय केही व्यक्तिहरुले समेत मिलापत्र गर्न दबाव दिएको आरोप बालिकाका बुवाले लगाए ।

 

उनले भने, ‘एकचोटि गल्ती भयो माफ पाऊँ भनेको छ । अबदेखि यस्तो गल्ती गर्दिनँ भनेकाले मिलौं भनेर स्थानीय केही व्यक्तिले भनेका छन् । तर म छाड्दिनँ, कानुनी रुपमा अघि बढिसकेको छु ।’

 

बालिकाको आमाको भनाइअनुसार पीडक मगरको छोरा चन्द्रबहादुरले पैसा दिन्छु, मिल्नुपर्छ भनेर दबाब दिँदै आएका छन् । ‘बुवा ल्याउँछु, प्रहरी केस नगरेरै गाउँमा मिलाऔं भन्दैछ,’बालिकाकी आमाले भनिन्, ‘वडासदस्य भुवनसिंह मगरले पनि गाउँमै मान्छे भेला पारेर गाउँमै मिलाउनुपर्छ भन्छन् ।’

 

घटनापछि छोरी स्कुल जानसमेत नमानेको र श्रीमान विदेशमा रहेकाले धेरै समस्या भइरहेको बालिकाकी आमाले बताइन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले २४ घण्टाभित्र अपराधीलाई पक्रने भने पनि अझै नपक्रेको गुनासो अभिभावकको छ ।

 

तर प्रहरी निरीक्षक कटुवालले मगरको खोजी भइरहेको बताए । उनले घटनामा मिलापत्र गराउन नसकिने स्पष्ट पारे । पीडकको पहिचान भइसकेकाले कानुनी कारवाही हुने उनले बताएका छन् ।

 

गाउँलेले ढिला खबर गरेकाले आरोपी भाग्न सफल भएको प्रहरीको भनाइ छ । तर, घटना भएको यतिका दिनसम्म पनि गुपचुप राख्नुले प्रहरीको भूमिकामा समेत पीडित पक्षले प्रश्न उठाएका छन् ।


सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालले भने आफूलाई यो घटनाको विषयमा जानकारी नै नभएको दाबी गरे । आफ्नै नगरपालिकामा यति ठूलो घटना हुँदा पनि प्रहरीले समेत जानकारी नगराएको मेयर ढकालको भनाइ छ । उनले पीडित पक्षलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

६० वर्षीय वृद्धद्वारा ८ वर्षीया बालिका

विशेष