अब भेडा चराउन विदेश जानु पर्दैन, गाउँमै राेजगारी सिर्जना गर्छाैंं : मन्त्री विष्ट
गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताएका छन्।
बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कृषि, शिक्षा स्वास्थ्य, रोजगारी लगायतका सामाजिक विकासका क्षेत्रमा नयाँ ढंगले नीति तथा कार्यक्रम बनाइ जनताको सेवा गर्न चाहेको बताए।
विश्व मानचित्रमा गौरवशाली, सबल र समृद्ध नेपाल बनाउने ऐतिहासिक दायित्व यो सरकारमा आएको भन्दै उनले सो दायित्व पूरा गर्न सरकार कुनै पनि कदम चाल्न पछि नपर्ने बताए।
'हामीले पुरानो मानसिकता र मनोवृत्तिलाई सच्याएर पूर्वाधार निर्माण गर्दै गरिबी तथा बेरोजगारीलाई समाधान गर्न नयाँ ढंगले अगाडि बढ्नेछौँ,' मन्त्री विष्टले भने, 'जनताका तमाम समस्या समाधानका निम्ति निश्चित नयाँ नीति र कार्यक्रमका साथ अगाडि बढ्नेछौँ।' सरकारले केही समयमै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि उनले बताए।
देशमा पर्याप्त रोजगारी सिर्जना गर्ने बताउँदै मन्त्री विष्टले अब युवाहरु अरबमा भेडा चराउन जानु नपर्ने भनाइ राखे। 'गाउँमै हजारौं रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ,' उनले भने।