विदेश

सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता

सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता

सोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ ।  उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास सुरु भएको बताइएको छ ।

 

अमेरिकी सेनाको पनि ठूलो संख्याको उपस्थितिमा सुरु भएको सो सैन्य अभ्यासकाकारण यसै महिनामा हुन लागेको उत्तर र दक्षिण कोरियाको वार्ता प्रभावित हुने हो कि भन्ने प्रश्न जनमानसमा उठेको छ ।

 

यद्यपि यस विषयमा उत्तर कोरियाले भने कुनै प्रतिक्रिया दिएको छैन । अधिकारीहरुले आइतबार बिहान सबेरैबाट यस्तो सैन्य अभ्यास सुरु भएको बताएका छन् ।  यस अभ्यासमा दक्षिण कोरियाका २ लाख ९० हजार सेनाको उपस्थिति रहेको छ । त्यसैगरी अमेरिकाका ११ हजार ५०० सैनिक सो अभ्यासमा रहेका पनि बताइएको छ ।

 

दक्षिण कोरियाको रक्षामन्त्रालयले यस सैनिक अभ्यासलाई सामान्य, सानो संख्याको र यी दुई देशबीचको नियमित प्रक्रिया हो भनेको छ । यो सैन्य अभ्यास केही महिना अघि नै गर्ने भनिएको थियो । तर ढिलागरी आइतबार सुरु भएको अधिकारीहरुले जनाएका छन् ।

 

यहाँ अत्याधुनिक हातहतियारका साथै सैन्य कलाहरुको पनि प्रदर्शन गरिने भएको छ । यस बारेमा दक्षिण कोरियाले थप जानकारी भने केही दिएको छैन । हालैका दिनहरुमा उत्तर कोरियाले आणविक अस्त्र उत्पादन र परीक्षणको काम बन्द गरेको छ । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँग पनि शान्ति वार्ता गर्ने पहल थालेको छ ।

 

यसैका लागि गत बुधबारमात्र उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणबाट फर्किएका थिए । उनले अणुअस्त्र कार्यक्रम उत्पादान नगर्ने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि वार्ता गर्ने बताएका छन् ।  

 

यसैकारण संयुक्तराज्य अमेरिका पनि उत्तर कोरियासँग वार्ताका लागि सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा स्पष्ट गरिसकेका छन् ।

 

विकसित घटनाक्रमअनुसार उत्तर र दक्षिण कोरियाबीच यही अप्रिलको अन्त्यतिर र उत्तर कोरिया र अमेरिकाबीच आगामी मे महिनामा वार्ता हुने बताइएको छ । एएफपी

विशेष