देश अस्थिरतातर्फ लैजान देशभित्र र बाहिरका शत्रुहरू लागिपरेका छन् : गृहमन्त्री थापा
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले देशभित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिँदै उनले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताए। 'सुरक्षालाई बलियो बनाउँदै त्यसलाई रोक्नु आवश्यक छ,' उनको भनाइ थियो।
जनप्रतिनिधिलाई पत्र पठाउने, कारबाही गर्ने, चन्दा उठाउने, ठाउँठाउँमा विस्फोट गराउनेजस्ता गतिविधि भइरहेको भन्दै उनले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्ने बताए।
अपराधी लुक्ने ठाउँका रुपमा चितवन विकास हुँदै गएको भन्दै उनले थपे, 'जति विकास हुन्छ, चुनौती र अपराध थपिँदै जान्छ, सुरक्षा नीतिमा परिमार्जन गर्नु आवश्यक छ।'
प्रहरी संगठनमा भौतिक पूर्वाधार, उच्च प्रविधि लगायतको अभावका बीच पनि संगठनले आफ्नो छवि उच्च राखेर अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनले यसलाई अझ सशक्त बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
समयमा प्रहरीको बढुवा नहुँदा आत्मबल उच्च राख्न नसकिएको स्वीकार गर्दै उनले यसलाई नीतिगत रुपमा परिवर्तन गर्ने आश्वासन पनि दिए।
देश अस्थिरतातर्फ गृहमन्त्री थापा