News समाज प्रदेश ३

शिक्षक महासंघका अध्यक्ष थापा बने चार विद्यार्थीका अभिभावक

घनश्याम खड्का

शिक्षक महासंघका अध्यक्ष थापा बने चार विद्यार्थीका अभिभावक

ललितपुर । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा चारजना विद्यार्थीका अभिभावक बनेका छन् । उनले बुधवार चार जना विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई रुद्रायणी मावि खोकना ललितपुरमा भर्ना गरिदिएका हुन् ।

 

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्षसमेत रहेका थापाले दर्जी लामालाई कक्षा २ मा, गोइजिना लामालाई केजीमा, रविन कार्कीलाई कक्षा ३ मा र प्यासिफिक महर्जनलाई कक्षा ८ मा भर्ना गरिदिएका हुन् । 

 

उनले ती विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय पोशाक, पाठ्यपुस्तक प्रदान गरेका थिए । साथै, पाँच कक्षाभन्दा तलका तीन विद्यार्थीलाई दिवा खाजाको समेत व्यवस्था गर्ने जनाएका छन् । 

 

सरकारको भर्ना अभियान र ‘एक विद्यार्थी भर्ना मेरो सामाजिक दायित्व’ अभियानअन्तर्गत चार जना विद्यार्थीलाई विद्यालयमा भर्ना गर्नुका साथै  उनीहरूको अभिभाकत्वसमेत ग्रहण गरेका महासंघका अध्यक्ष थापाले जानकारी दिए ।

 

ती विद्यार्थीलाई कक्षा १० सम्म लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने थापाले जानकारी दिए । 

 

शिक्षा मन्त्रालयले ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ नयाँ भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।

 

यो अभियानकै क्रममा प्रधानमन्त्री, पूर्वप्रधानमनत्रीहरू, मन्त्रीहरू, सभामुख, प्रदेशका मुख्यमन्त्रीहरू, प्रदेशका मन्त्रीहरू, सांसदलगायतले पनि विभिन्न बच्चाका अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई विद्यालयमा भर्ना गराउँदै आएका छन् । मन्त्रालयले यसका लागि सबै सरोकारवालाहरूसँग आग्रह गरेको छ ।

 

यसै अभियानअन्तर्गत शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले पनि चार जना बच्चाको अभिभावकत्व ग्रहण गरेका हुन् । नयाँ भर्ना गरिएका विद्यार्थीहरूको बुवाआमाको स्थानमा अर्केको नाम भए पनि अभिभावकको स्थानमा आफ्नो नाम हुने थापाले स्पष्ट पारेका छन् । 

 

महासंघले चैत २७ गते एक विद्यार्थी भर्ना अभियानका सम्बन्धमा विज्ञप्ति जारी गर्दै विद्यालय भर्ना अभियान तथा स्वागत कार्यक्रम, विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यक्रममा सक्रिय सहभागी बन्न सम्पूर्ण विद्यालय एवं शिक्षकहरूसँग आग्रह गरेको थियो । 

नेपाल शिक्षक महासंघ बाबुराम थापा घनश्याम खड्का

विशेष