स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई रोजेकै स्थानमा खटाइने
काठमाडौं । स्वेच्छिक अवकाशका लागि आवेदन दिएका कर्मचारीलाई अवकाश नदिई सरकारले अव पायक पर्ने स्थानमै खटाउने भएको छ।
सरकारले स्वेच्छिक अवकाश प्याकेज कार्यान्वयन नगर्ने घोाषणा गरेलगत्तै असन्तुष्ठ बनेका कर्मचारीलाई सकभर रोजेकै पायक पर्ने स्थानमा खटाउने भएको हो।
पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ल्याएको स्वेच्छिक अवकाश प्याकेज देशको हितविपरित भएको भन्दै वर्तमान सरकारले त्यसलाई कार्यान्वयन नगर्ने भएपछि सो अवकाश प्याकेज रोजेका कर्मचारीलाई पायक पर्ने ठाउँमा खटाउने भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकाश प्याकेज अव कार्यान्वयन नहुने भएकाले अवकाश प्याकेज रोजेकालाई सकभर पायक पर्ने स्थानमै खटाइने बताए।
‘स्वेच्छिक अवकाश प्याकेज लागु हुँदैन,’ मन्त्री पण्डितले भने ‘तर स्वेच्छिक अवकाशका लागि आवेदन दिएकालाई सकभर रोजेकै पायक पर्ने ठाउँमा खटाउने प्रयास गर्छौं।’
उनले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई अव स्वेच्छिक अवकाशको आशमा नवसी प्रतिवद्ध भएर जनताको सेवामा लाग्न समेत आग्रह गरे।
कर्मचारी समायोजन ऐनमा भएको व्यवस्था अनुसार ५० बर्ष उमेर र २० बर्ष सेवा अवधी पुरा भएका कर्मउचारीलाई सात बर्षको एकमुष्ठ पेन्सन र थप सुविधा समेत दिनेगरि पूर्ववर्ती सरकारले स्वेच्छिक अवकाश योजना ल्याएको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सूचनामा स्वेच्छिक अवकाश योजनाका लागि ९ हजार ६ सय ५६ जना कर्मचारीले आवेदन दिएका थिए। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।