प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरा नउठ्ने पूर्वराजदूत थापाको ठोकुवा
काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूहका संयोजक डा. भेषबहादुर थापाले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै नहुने बताएका छन् ।
साथै उनले नयाँ सम्झौता गर्नुभन्दा भएका सम्झौताहरु कार्यान्यवन र आर्थिक समृद्धि हासिल गर्ने विषयमा केन्द्रित भएर कुराकानी गर्न सुझावसमेत दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा पूर्वराजदूत थापाले भने, ‘अहिलेको सरकारको मुख्य फोकस राष्ट्रियतालाई बलियो बनाउने, राष्ट्रिय स्वार्थलाई अघि बढाउने र जनतालाई समृद्धि दिने नै हो, संवाद गर्दा यिनै कुरामा ध्यान दिनुपर्छ ।’
भारतसँग करिब १८ वर्षअघि पञ्चेश्वर आयोजनामा हस्ताक्षर भए पनि अहिलेसम्म अगाडि नबढ्नु दुःखद भएको भन्दै उनले अब गरेर देखाउने बेला आएको बताए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरा उठ्छ त भनेर प्रश्नमा प्रबुद्ध समूहका नेपाल संयोजकले यो विषय भ्रमणसँग सम्बन्धित नरहेको स्पष्ट पारे ।
सन्धिबारे अहिलेसम्म गहिरिएर र करेक्सन गर्नेबारे गृहकार्य नभएको भन्दै उनले भने, ‘अहिले यो विषयले हाई लेभलमा प्रवेश पाएको छ, यसलाई समसामयिक बनाउन र विगतमा भएका तिक्तता कम गर्नेगरी हामीले होमवर्क गरिरहेका छौं ।’