के होला प्रदेश ४ को नाम ? यस्ता छन् थरीथरीका सुझाव
प्रदेश ४ को नाम के होला ? प्रदेशका ११ जिल्लामा चासो र चर्चा छ । विभिन्न संघसंस्थाले आआफ्नो हिसाबले सुझाव दिइरहेका छन् ।
प्रदेश राजधानी पोखरा बनाउने विषयमा लगभग सहमतिको नजिक छ । प्रदेशको नाम कहिले टुंगो लाग्छ त ?
‘नामकरण कार्यविधि बनेको छ । २१ गते समिति बैठक बस्दै छ । कार्यविधिका आधारमा नामको सुझाव संकलनबाट महिना दिनभित्रै टुंगो लगाउँछौं,’ विशेष समिति सदस्य एवं सांसद दीपक कोइरालाले भने ।
कार्यविधि पास भएपछि सुझाव संकलनका लागि हरेक जिल्लामा गइने समितिका अर्का सदस्य विन्दुकुमार थापाले बताए ।
‘विभिन्न समूहमा बाँडिएर जिल्ला समन्वय समिति वा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा ११ वटै जिल्ला जाने तयारी गरेका छौं,’ समिति सदस्य विन्दु थापाले भने, ‘सामाजिक सञ्चालबाट पनि नामकरणसम्बन्धी सुझाव संकलन गरिने छ ।
त्यसका लागि आधिकारिक वेबसाइट वा सामाजिक सञ्चालन तयार गर्ने सहमति नजिक छौं ।’
प्रदेश ६ मा जस्तै सर्वमान्य नाम छनोट गरेर प्रदेशसभामा सिफारिस गर्ने थापाले बताए । प्रदेश ६ ले कर्णाली राखेको छ ।
हिमाली जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, पर्वत, म्याग्दी, तनहुँ, बागलुङ, गोरखा, स्याङ्जा, लमजुङ हुँदै तराइको जिल्ला नवलपुरसम्मलाई सम्बोधन गर्ने गरी प्रदेशको नाम राख्नुपर्ने बाध्यता छ ।
गण्डकी, गण्डक, तमुवान मगराज, अन्नपूर्ण, मुक्तिनाथ, गोरखा, व्यास, धौलागिरि, माछापुच्छ्रेलगायत थुप्रै नाममाथि जनस्तरमा बहस भइरहेका छन् ।
क्षत्री, ब्राह्मण, दशनामी, ठकुरीलगायत संस्थाले कुनै पनि जातीय नाम राख्न नहुने बताएका छन् भने तमुवान संघर्ष समिति, तमु हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषदलगायत संस्थाले तमुवान मगरात राख्नुपर्ने माग गरिरहेका छन् ।