विदेश

भारतमा सामुद्रिक छाल आउने चेतावनी

भारतमा सामुद्रिक छाल आउने चेतावनी

नयाँदिल्ली । भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ ।

 

छालसम्वन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने बलियो संकेत देखिएकाले सतर्क हुन आह्वान गरेको जनाइएको छ ।

 

सामुद्रिक किनारा भएका देशभरका सवै ठाउँका स्थानीय वासिन्दाले सतर्कता अपनाउनु पर्ने अधिकारीको भनाइ छ । प्राधिकरणका अधिकारीका अनुसार भारतको पश्चिमी सामुद्रिक किनारामा शनिबार बिहान र बंगालको खाडी क्षेत्रमा आइतबार सामुद्रिक छाल आउने चेतावनी दिइएको हो । 


आउँदो मंगलबार पनि सामुद्रिक छाल आउने संभावना उत्तिकै रहेको अधिकारीले बताएका छन् ।  सामुद्रिक छालबाट विषेश गरेर भारतको लक्ष्यद्विप, दक्षिणी तमिलनाडु, बंगालको खाडी र केरलालगायतका क्षेत्र बढी प्रभावित हुने देखिएको छ ।

 

ती क्षेत्रहरुमा उच्च शक्तिको सामुद्रिक छाल शनिबार र आइतबार आउने बताइएको छ । सामुद्रिक छालबाट प्रभावित हुनसक्ने क्षेत्रका मानिसलाई यसअवधिमा त्यहाँबाट अन्यत्र सुरक्षित ठाउँमा जान सल्लाह छ, प्राधिकरणका अधिकारीले भनेका छन् । 

 

उनीहरुले दक्षिण कर्नाटक र उत्तर तमिल नाडुमा भीषण वर्षा हुने अनुमान पनि गरेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

भारत सामुद्रिक छाल

विशेष