News

अभिभावक बने राजेश हमाल

अभिभावक बने राजेश हमाल

काठमाडाैं । चर्चामा आउन होस् या साँच्चिकै भावनात्मक हृदयका साथ अहिले देशैभरि ठूला भनाउँदाहरुले आर्थिक रुपमा विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेका छन् ।

 

यस्तै महानायक राजेश हमालले पनि कपिलवस्तुका एक बालकलाई विद्यालय भर्ना गराएका छन् । बुद्धभूमि नगरपालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनेका हमालले बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा ५ वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गराएका हुन् ।

 

‘मेरो पहिलेदिखि चाहना थियो, यस पटक नेपाल सरकारको नीतिले ठूलो अवसर जुटायो, हमालले भने, राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटकपटक विशेष महत्वका साथ हेरविचार गर्नेछु, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु ।’ 

 

विद्यालयको भर्ना कापीमा अभिभावकका रुपमा हस्ताक्षर गर्दै उनले राजलाई झोला, पाठ्यपुस्तक र पाठ्यसामग्री पनि दिए । बालकको लालनपोषणका लागि केही रकमसमेत उनले सहयोग गरेका राजकी आमा लक्ष्मीले बताइन् ।

 

राज बुद्धभूमि–२ पुरेनाको सामान्य परिवारमा जन्मिएका हुन् । बुबा काशीराम र आमा लक्ष्मीका उनी कान्छा सन्तान हुन् । उनका बुबाको गत वर्ष कात्तिक १९ गते भारतमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

 

मृत्यु भएको एक वर्ष पुगे पनि राजको परिवारले हालसम्म राहत रकम पाएको छैन । पतिको मृत्युपछि लक्ष्मी नदीजन्य पदार्थ गाडीमा लाद्ने काम गर्दै आएकी छन् ।


हमालले अभिभावकत्व ग्रहण गरेपछि आफ्नो बालकको भविष्य उज्वल हुने उनले बताइन् ।

राजेश हमाल

विशेष