News कभर स्टोरी मुख्य समाचार देश

बेइजिङबाट फर्केका मन्त्री ज्ञवालीले भनेः केरुङ–काठमाडौं रेलमार्ग चीनको सहयोगमा

बेइजिङबाट फर्केका मन्त्री ज्ञवालीले भनेः केरुङ–काठमाडौं रेलमार्ग चीनको सहयोगमा

चीन भ्रमणबाट फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केरुङ–काठमाडौं रेलमार्ग प्राथमिकतासाथ बनाइदिन चीन सरकार समक्ष प्रस्ताव राखेको बताएका छन्।

 

चीन भ्रमणबाट फर्केका मन्त्री ज्ञवालीले शनिबार काठमाडौं विमानस्थलमा भने, ‘चीन भ्रमणका क्रममा मैले केरुङ–काठमाडौं, काठमाडौं–पोखरा हुँदै लुम्बिनी जोड्ने सीमापार रेलमार्ग विशेष प्राथमिकता दिएर बनाइदेओस् भन्ने प्रस्ताव चीन समक्ष राखेको छु।’

 

मन्त्री ज्ञवालीले बुधबार बेइजिङमा चीनका उपराष्ट्रपति वाङ छिसान र स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीसँग भेटावार्ता गरेका थिए।

 

परराष्ट्रमन्त्री वाङसँग ज्ञवालीले हिमालयपार रेलमार्ग, सडक र विद्यतु ट्रन्समिसन लाइनबारे छलफल गरेका थिए, जहाँ केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा समझदारी पत्र तयार गर्ने थप अध्ययन गर्ने सहमती बनेको थियो।

 

काठमाडौं आइपुगेका ज्ञवालीले चीनका विदेशमन्त्री वाङले त्रिदेशी सम्बन्धबाट नेपालले लाभ उठाउन प्रस्ताव गरेको बताए। विमानस्थलमा ज्ञवालीले चीनले राखेको त्रिदेशीय आर्थिक करिडोर सम्बन्धी अवधारणाको प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताए।

 

परराष्ट्रमन्त्री ज्ञवालीले चर्चामा आएजस्तो प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्रै आफ्नो चीन भ्रमण नभएको स्पष्ट पारे।

 

नेपालमा नयाँ सरकार गठनको नयाँ परिस्थितिमा दुई देशीय सम्बन्ध प्रगाढ बनाउँदै सहयोगका लागि नयाँ क्षेत्र खोज्ने सन्र्दभमा भ्रमण केन्द्रीत भएको उनले उल्लेख गरे।

 

रसुवागढी–केरुङ र तातोपानी–झाङमु नाकाहरुको स्तरोन्नती तथा भुकम्पपछि अवरुद्ध बनेको तातोपानी नाका संचालनमा ल्याउने कुराकानी भएको उल्लेख गर्दै ज्ञवालीले तातोपानी नाका छिट्टै संचालनमा आउनेमा आफु विश्वस्त भएर फर्केको बताए।

प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री केरुङ–काठमाडौं रेलमार्ग

विशेष