News प्रदेश ३

अब गफ गर्ने दिन गए, काम गर्ने दिन शुरू भए : मुख्यमन्त्री पाैडेल

अब गफ गर्ने दिन गए, काम गर्ने दिन शुरू भए : मुख्यमन्त्री पाैडेल

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बोल्ने दिन सकिएर काम गर्ने दिन शुरु भएको बताएका छन् । 

 


लगानी बोर्डको आयोजनामा आज हेटौँडामा भएको लगानीसम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अब देशले कुरा गर्ने होइन काम गर्ने मान्छे खोजेको बताए । 

 

उनले भने, ‘अब बोल्ने हैन, गर्ने हो, हामीले विश्वास, संकल्प र इच्छाशक्ति राखेमात्र सोचेको समृद्धि प्राप्त गर्न सक्छौं ।’ उनले प्रदेश ३ मा लगानीमैत्री कानुन निर्माण हुने भन्दै लगानीका लागि लगानीकर्ताहरुलाई निर्धक्क रहन आग्रहसमेत गरे ।

 

हाम्रो देशमा रहेको पुँजीलाई व्यवस्थित गर्न सके देशकै लगानीबाट विकास गर्न सकिने भन्दै उनले सरकारले अब लगानीको विषय खोजी गरिरहेको र उत्पादनमुखी, परिणाममुखी लगानीको लागि सरकार प्रतिबद्ध रहेको उनको धारणा रहेको थियो ।

 

नेपाली उद्योगमा सरकारको कारणमात्र समस्या नभएको भन्दै मुख्यमन्त्री पौडेलले उद्योग ब्यवसायीहरुबाट पनि धेरै समस्याहरु सृजना भएको बताए ।

 

औद्योगिक क्षेत्रमा भएका हजारौं बिघा जमिन कब्जा गरेर बेच्ने परिपाटीको अन्त्य गर्दै नयाँ लगानीकर्ताका लागि जग्गा उपलब्ध गराउन सरकार तयार रहेको समेत उनले बताए ।

 

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठसहित प्रदेश सांसदको सहभागिता थियो ।

 

 
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानीको अवस्था र बोर्डले गरेका क्रियाकलापहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेल

विशेष