News मुख्य समाचार राजनीति प्रदेश ३

कांग्रेस वृद्ध नेता कुलबहादुरले सभापति देउवालार्इ गरेकाे समर्थन फिर्ता लिएपछि...

कांग्रेस वृद्ध नेता कुलबहादुरले सभापति देउवालार्इ गरेकाे समर्थन फिर्ता लिएपछि...

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङले ०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सभापतिमा गरेको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । 

 


जारी केन्द्रीय समितिको बैठकमा आफ्नो लिखित धारणा राख्दै गुरुङले सभापतिको हैसियतमा देउवाले २६ महिनाको बीचमा खेलेको भूमिकाप्रति कटाक्ष गर्दै उनलाई सभापतिमा गरेको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् । 

 


‘विभिन्न कार्यक्रम र मञ्चहरूमा पार्टी सभापति एवं प्रधानमन्त्री हैसियत र गरिमाविपरीत विवादास्पद अभिव्यक्तिले पार्टीको लोकप्रियतामा पुग्न गएको गम्भीर क्षतिलगायत कार्यबाट १३ औँ महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावका नाताले बसेको म अत्यन्तै दुखी र मर्माहत भएको छु’,

 

उनले भनेका छन्, ‘अतः मैले देउवाजीलाई महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिब दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्तै  दुःखी भएकाे परिस्थितिमा पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको पर्वाह नराखी मैले १३ औँ महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई पार्टी सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरासमेत यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँदैछु ।’

 


१३ औँ महाधिवेशनमा आफूसहित देशैभरि महाधिवेशन प्रतिनिधिहरूले विश्वासका साथ मत दिएर सभापतिमा देउवा विजयी भएपनि उनले त्यसको सम्मान गर्न नसकेको समेत उनले आरोप लगाए । 

 

कांग्रेस अहिले अत्यन्त जटिल मोडमा उभिएको बताउँदै उनले स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई केन्द्रीय नेतृत्वले समयमै गम्भीरतापूर्वक नलिई तिनै गल्ती र कमजोरीलाई निरन्तरता दिँदा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि नराम्रोसंग पराजय भोग्नु परेको बताएका छन् ।

 


उनले भनेका छन्न्, ‘ निर्वाचनमा भएको यो पराजयले कांग्रेसले आज आफ्नो साखमात्र गुमाएको छैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा यसले आफ्नो लोकप्रियता गुमाएको भन्ने मेरो ठहर छ ।’

 

बैठकमा बोल्ने क्रममा अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति विधानभन्दा माथि नरहेको भन्दै देउवाको आलोचना गरेका थिए । पौडेलले निर्वाचन समीक्षा भनिए पनि मुख्यतः दलको आमूल परिवर्तनमा जोड दिनुपर्ने बताए । माथिदेखि तल्लो तहसम्म पार्टीलाई पुनः संगठित गर्नुपर्ने उनले बताए । 

कुल बहादुर गुरूङ

विशेष