News मुख्य समाचार

क्षेत्राधिकार मिचेर ‘सस्तो लोकप्रियता’ कमाउन छड्के

क्षेत्राधिकार मिचेर ‘सस्तो लोकप्रियता’ कमाउन छड्के

काठमाडौं । स्थानीय तहमा बग्रेल्ती बेथिती छन्। कर्मचारी समायोजन प्रक्रिया टुंगिएको छैन। निजामतिको संघीय, प्रदेश ऐन बनाउनु पर्ने काम पनि थाँतीनै छ। प्रदेश र स्थानीय सरकारमा खटाएका कर्मचारी कार्यक्षेत्रमा पुगेका छैनन्।

 

अहिलेका २२ मन्त्रालय मध्ये सबैभन्दा बढि काम गर्नुपर्ने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आफ्नो मन्त्रालय सुधारका काम छाडेर ‘सस्तो लोकप्रियता’को लागि क्षेत्राधिकार मिचेर छड्के अुनगमनमा निस्किएका छन्।

 

मन्त्री पण्डितले आइतबार क्षेत्राधिकार बाहिरका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय माताहतको मालपोत कार्यालय डिल्लिबजारमा छड्के गरे। त्यहाँ पुगेर कर्मचारीको हाजिरी ढड्डा हेरे । मन्त्री पण्डितले छड्के गरेपछि आइतबार दिनभर उनको पक्ष र विपक्षमा टिकाटिप्पणी भए।


मन्त्री आफ्नो विभागीय जिम्मेवारी भन्दा बाहिर अन्य मन्त्रालय माताहतका कार्यालयमा गएर अनुगमन गर्न मिल्छकी मिल्दैन त ? पूर्व प्रशासक श्याम मैनाली भन्छन्, ‘अन्य मन्त्रालय माताहतका निकाय गएर छड्के गर्नु अनाधिकृत काम हो ।’ सामान्य प्रशासन मन्त्री भए पनि पण्डितले अर्काको क्षेत्राधिकारमा हस्तक्षेप गर्न नहुने मैनालीले बताए।


‘मन्त्रीले पनि अनाधिकृत काम गर्न पाइँदैन,’ पूर्व सचिवसमेत रहेका मैनालीले भने, ‘मन्त्रीले आफ्नो मेसिनरी (सचिव) मार्फत निर्देशन दिने हो।’ मन्त्री कार्यालय जाने नभई नीति, योजना र कार्यक्रम बनाएर कार्यान्वयन गर्ने भएको मैनालीले बताए।

 

‘वहाँ सामान्य प्रशासन मन्त्री भए पनि अन्य मन्त्रालयका कर्मचारीको छड्के गर्न मिल्दैन,’ मैनालीले भने, ‘कर्मचारीको नीति, निर्माण तहमा काम गर्ने हो।’ जिम्मेवारी विभाजनकै लागि मन्त्रिपरिषद्ले कार्य विभाजन नियमावली बनाएको पनि उनले स्पष्ट पारे। 

 

‘वहाँ(लालबाबु ज्यू) प्रधानमन्त्री त होइन,’ मैनालीले भने, ‘प्रधानमन्त्री मात्र अन्य मन्त्रालय हेर्न पाउनु हुन्छ । तर, वहाँ(प्रधानमन्त्री)ले पनि सचिवमार्फतनै कारबाही गर्ने हो।’

मन्त्री लालबाबु पण्डित छड्के अुनगमन

विशेष