प्रधानसेनापति क्षत्री आज सुडान जाने
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री साेमबार कंगो र सुडान जाने भएका छन् ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ रहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गो स्थित मोन्सुस्को मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्टको यहि चैत्र २० देखि २२ गते सम्म हुने निरिक्षण भ्रमणको लागि प्रधानसेनापति राजेन्द्र क्षत्री सोमबार कङ्गोतर्फ प्रस्थान गर्नेछन्।
उनले कंगोको निरिक्षण पश्चात यही चैत्र २३ गते देखि २६ गतेसम्म दक्षिण सुडानस्थित अनमिस मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्टको निरिक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त मिशनहरुकोे स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिनुको साथै सकलदर्जालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चार सदस्यीय भ्रमण टोलीमा सैनिक आर्थिक प्रशासन विभाग प्रमुख लेखा उपरथी भुवन बहादुर अधिकारी तथा अन्य अधिकृतहरु रहने छन्।
भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्। भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री चैत्र २७ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ।