News राजनीति

ब्यानर विवाद : मान्छे सम्हाल्ने जिम्मा बद्री पंगेनीलाई !

ब्यानर विवाद : मान्छे सम्हाल्ने जिम्मा बद्री पंगेनीलाई !

काठमाडौं । लेनिनजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसमा एमाले र माओवादी केन्द्रले आइतबार राष्ट्रिय सभागृहमा संयुक्त कार्यक्रम आयोजना गरेका थिए । १२ बजे कार्यक्रम सुरु हुने भनिएको थियो, तर त्यसअघि नै भित्र हल भरिएर चौरमा पनि बाक्लो भिड थियो ।

 

 बाहिर उपस्थित कार्यकर्ताका लागि भवनको दुवैतर्फ  प्रोजेक्टरको पनि व्यवस्था गरिएको थियो । कार्यक्रम सुरु गर्न दुई अध्यक्षको प्रतीक्षा थियो । अचानक हलभित्र होहल्ला सुरु भयो । कार्यक्रममा राखिएको मुख्य ब्यानरप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका कार्यकर्ताहरू हुटिङ गर्न थाले । 

 

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस शीर्षक राखिएको ब्यानरमा केपी ओली र प्रचण्डको बाहेक पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर थियो । लेनिन दिवसमा लेनिनको फोटो खोइ भन्दै नाराबाजी सुरु भयो । 


आयोजकमा नेकपा (एमाले)सँगै नेकपा (माके) लेखिएकोमा उनीहरूको आपत्ति थियो । यस्तो ब्यानर हटाएर मात्र कार्यक्रम सुरु हुनुपर्छ भन्ने उनीहरूको माग थियो ।

 

फ्लोरमा तनाव बढिरहेको वेला माओवादी नेता वर्षमान पुन स्टेजमा उक्लिए । उत्तेजित कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘कृपया संयमित हुनुस्, अनुशासनमा बस्नुस्, तपाईंहरूका सबै जायज माग शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ ।’ 

 

तर, तनाव शान्त भएन । ब्यानर फेर्नुपर्ने माग एकोहोरो रूपमा उठिरह्यो । एमाले कार्यकर्ता भने लगातार मौन थिए । आयोजकहरूले नयाँ ब्यानरको प्रतीक्षा गरिरहेका थिए । त्यसैले साढे दुई बजेसम्म कार्यक्रम सुरु हुन सकेको थिएन । 

 

कार्यकर्ताहरू आत्तिएर फर्किन थालेपछि अचानक बद्री पंगेनीलाई स्टेजमा बोलाइयो । एकता गर ओली र प्रचण्ड भन्दै उनले लोकभाकामा गीत गाउन थालेपछि दुवै पक्षका कार्यकर्ताले थपडी पिट्न थाले । खासमा उनी कार्यक्रममा समेत थिएनन्, गीत गाउनका लागि फोन गरेर तत्कालै बोलाइएको थियो ।

 

माओवादीले तयार पारेको ब्यानरमा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर थियो । एमालेले तयार पारेको ब्यानरसँगै नयाँ ब्यानर टाँगिएपछि माओवादी कार्यकर्ताले फेरि ताली बजाए । अनि कार्यक्रम सुरु भयो |

बद्री पंगेनी ब्यानर विवाद

विशेष