३३ किलो सुन तस्करी: दोस्रो तहको ‘कनेक्सन’ खोतलिंदै, जो छन् शंकाको घेरामा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो सुनका विषयमा अनुसन्धान गर्न बनेको गृह मन्त्रालयको विशेष समितिले तस्करीलाई सघाउने दोस्रो तहको ‘कनेक्सन’ खोतल्न थालेको छ ।
समितिले आइतबार विमानस्थलका तत्कालीन डीआईजी गोविन्द निरौलालाई बयानपश्चात् पक्राउ गरेको थियो । उच्च स्रोतका अनुसार समितिले इटहरीस्थित डीएसपी सञ्जय राउत, एसपी विकासराज खनाल र एसएसपी श्याम खत्रीलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान अगाडि बढाएको छ ।
एसएसपी खत्री २०७३ पुस २१ मा विमानस्थलबाट बाहिरिएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करीको अर्को घटनामा समेत मुछिएका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलको भन्सारबाट बाहिरिएको सुन विमानस्थलको गोल्डेन गेटबाहिर बरामद गरेको थियो । उक्त सुन पास गराउन संलग्न रहेको भन्दै खत्रीलाई पक्राउ गरिएको थियो । तर उनले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका थिए ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले अब तस्करीलाई सघाउने दोस्रो तहमाथि अनुसन्धान केन्द्रित गरेको स्रोतले बतायो जसमा प्रहरीका केही बहालवाला अधिकारी, विमानस्थलका कर्मचारी र केही सुन व्यवसायीसमेत छन् ।
आइतबार पक्राउ गरी बानेश्वर वृत्तको थुनुवा कक्षमा राखिएका तत्कालीन डीआईजी निरौलालाई भने सोमबारै मोरङ पठाइएको छ । प्रहरीले सोमबारै जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
स्रोतका अनुसार आइतबारको बयानका क्रममा निरौलाले सुन तस्करीमा मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई आफूले चिनेको र उनका बाबु आफ्नो साथी रहेको बताएका थिए ।
विमानस्थलबाट सजिलै बाहिरिएको सुन गुपचुप रूपमा लैजाने क्रममा बीच बाटोबाटै हराएको घटनामा तस्कर समूहले मोरङ स्थायी घर भई गौरीघाट बस्ने सनम शाक्यलाई शंका गरेको थियो ।
सुन पत्ता लगाउन समूहले शाक्यलाई मोरङ पुर्याएर निरन्तर कुटपिट र करेन्ट लगाएर फागुन १८ मा हत्या गरेको थियो ।, याे खबर अाजकाे कान्तिपुरमा छ ।