News स्वास्थ्य प्रदेश ३

अस्पतालसँगै अावास भवन हस्तान्तरण

अस्पतालसँगै अावास भवन हस्तान्तरण

रसुवा । भूकम्पपछि नेपाल रेडक्रसले धुञ्चेमा निर्माण गरेको जिल्ला अस्पताल र स्वास्थ्यकर्मी आवास भवन सोमबार हस्तान्तरण गरिएकाे छ । 

 

एक करोड ६८ लाख ९३ हजार रूपैयाँमा निर्माण भएको २५ कोठे जिल्ला अस्पताल र दुई करोड ८८ लाख ३३ हजार रूपैयाँको लागतमा अस्पताल हाताभित्र निर्मित कर्मचारी, स्वास्थ्यकर्मी बस्ने २६ कोठे चार भवनसमेत सोमबार नै जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएकाे जिल्ला रेडक्रस सभापति बाबुलाल तामाङले जानकारी दिए । अस्पताल १५ शैयाकाे छ। 

 

क्यानाडाली रेडक्रसको आर्थिक सहयोगमा निर्माण भएको प्रिफेब्रिकेटेड मोडलका भवनबाट अस्पतालको सबै सेवा सुचारु भइसकेको र दैनिक बहिरंगमा समेत २५ देखि ३० जना बिरामीले सेवा लिने गरेका जिल्ला स्वास्थ्य प्रमुख डा. गुणनिधि शर्माले बताए । 

 

एक कार्यक्रममा स्थानीय जनप्रतिनिधि, रेडक्रसकर्मी, स्थानीय प्रशासकसमेतको रोहवरमा रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापा र क्यानेडिएन रेडक्रस सञ्चालक समितिका अध्यक्ष ग्याभिन गाइल्सले संयुक्त रुपमा शिलापत्रको अनावरण गरी अस्पताल भवन तथा स्वास्थ्यकर्मी आवास हस्तान्तरण गरेका थिए । 

 

जिल्ला अस्पताल व्यवस्थित तवरले सञ्चालनमा सहज बनाउन रेडक्रसले ४५ लाख पाँच हजार रूपैयाँकाे उपकरण र १९ लाख ६८ हजार रूपैयाँ बराबरको फर्निचरसमेत उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको थियो । 

 

रसुवा जिल्ला अस्पताल निर्माणले जिल्लावासीका साथै नेपाल–चीन व्यापार व्यवसायमा आएका व्यक्ति र हिमाली पदयात्रामा आएका पर्यटकको उपचारमा समेत सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

अस्पताल अावास भवन

विशेष