News प्रदेश ४

प्रदेश ४ काे नामलार्इ लिएर बहस, यस्ता थिए सुझाइएका नाम

प्रदेश ४ काे नामलार्इ लिएर बहस, यस्ता थिए सुझाइएका नाम

पर्वत । सोमबार भएको एक कार्यक्रममा पर्वतका सरकाेरवालहरूकाे उपस्थितले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका छन् । 

 

पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र मुक्ति क्षेत्रको नाम प्रस्ताव गरिएको छ । यसबाहेक धौलागिरि, शालिग्राम, कृष्णगण्डकी, वा मध्यप्रदेश राख्नसमेत सरोकारवालाले सुझाएका छन् ।  

 

प्रदेश ४ का अधिकांश जिल्ला हिमाली भेगसँग जोडिएका र अग्ला हिमशृंखला यस क्षेत्रको पहिचान भएकाले हिमाल प्रदेशनै सबैको साझा नाम हुने सुझाव सरोकारवालाले दिएका छन् । 

 

त्यसैगरी, नेपालकै लामा र ठूला नदी पनि यस प्रदेशमा पर्ने भएकाले गण्डकी प्रदेश राख्न पनि सकिने उनीहरुको तर्क छ । नेपालमै पवित्र मानिएको कालीगण्डकी नदी, जहाँ शालिग्राम शिलासमेत पाइन्छ, त्यस्तै सेती गण्डकीलगायत नदी रहेको स्थान र यसभन्दा अघि तत्कालीन माओवादीले गण्डक प्रदेशसमेत नामाकरण गरिसकेकाले गण्डक प्रदेश राख्न सकिने पनि सुझाव आएको छ । 

 

त्यस्तै, प्रदेश ४ को मुख्य पर्यटकीय क्षेत्र राउण्ड अन्नपूर्णमध्येको पनि मुक्तिनाथ सबैभन्दा परिचित धार्मिकस्थल भएकाले मुक्तिक्षेत्र राख्नुपर्ने सुझावसमेत दिइएको छ । 

 

हिन्दूको आस्थाको धरोहरसमेत मानिएको र विश्वमै परिचित धार्मिक एवं पर्यटकीयस्थल भएकाले मुक्तिक्षेत्रको नामबाट प्रदेशको नामाकरण गर्नु उचित हुने नामसमेत आएको छ । 

 

यसबाहेक भगवान् विष्णुको अवतार मानिने विश्वकै ठूलो शालिग्राम शिला रहेको प्रदेश र कालीगण्डकी नदीमा मात्र पाइने भएकाले शालिग्राम प्रदेश राख्दा पनि सबैको लागि साझा नाम हुने प्रस्ताव गरिएको छ ।

 

त्यस्तै, दामोदरकुण्डदेखि तराईका जिल्लासम्म पुगेको कालीगण्डकी जुन कृष्णगण्डकी नामले पनि परिचित छ, यो नाम राख्न पनि सकिने सुझाव सहभागीले दिएका छन् । उनीहरुले प्रदेश राजधानी भने पोखरामै उपयुक्त हुने सुझाव दिएका थिए । 

 

सुझाव संकलन कार्यक्रममा सहभागी राजनीतिक दलहरुले हिमालय, कालीगण्डकी, गण्डकी वा मुक्तिक्षेत्रलाई नै जोड दिएका छन् ।

 

एमाले जिल्ला उपाध्यक्ष भक्त कुँवर, कांग्रेस सभापति खिमप्रसाद भुसाल, माओवादी केन्द्रका शंकर गिरी, नयाँ शक्तिका यामबहादुर चोचाङ्गी पुनलगायतले मुख्य गरी हिमालय, कालीगण्डकी, गण्डकी वा मुक्ति क्षेत्र राख्दा ११ वटै जिल्लाका लागि साझा नाम हुने सुझाव दिएका थिए । 

 

त्यस्तै, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुखले पनि जुन नाम राख्दा सबैको पहिचान झल्किन्छ र सबैले अपनत्व बोध हुन्छ त्यस्तो खालको नाम राख्नुपर्ने बताएका छन् । उनीहरुले गण्डकी, मुक्तिक्षेत्र वा हिमालय राख्दानै उपयुक्त हुने पनि बताए । 

 

पर्वतमा सुझाव संकलनका लागि प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा, सावित्री राना र जुनादेवी नेपालीसहितको कर्मचारीको टोली खटिएको हो । पर्वतमा आएका सुझावलाई प्रदेशसभामा लैजाने र सकेसम्म यस क्षेत्रबाट गएका नामकै आधारमा नामकरण गर्नका लागि पहल गर्ने सांसदले बताए । 

 

कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, गैरसरकारी संस्थालगायत सरोकारवालाको उपस्थिति गराइएको थियो ।

 
सो अवसरमा प्रतिनिधिसभा सदस्य लालकाजी गुरुङले धेरै व्यक्तिका फरकफरक खालका सोचका आधारमा सुझाव दिनुभन्दा पनि एउटै साझा नाम मानेर पठाउँदा राम्रो हुने सुझाव दिए । उनले जुन नाम ११ वटै जिल्लाका नागरिकका लागि उपयुक्त हुन्छ त्यस्तो नामबाट नामाकरण हुनुपर्ने सुझावसमेत दिए ।

 

धेरै जिल्लाबाट धेरै किसिमका नाम राख्न सुझाव आउने र मुख्य मुख्य दुई, तीनवटा नामलाई बहुमतका आधारमा टुंगो लगाउँदा उचित हुने सुझाव समेत सहभागीले दिएका थिए । 

प्रदेश ४ प्रदेश नामकरण

विशेष