सरकार सञ्चालनको लागि बन्दुक, पैसा र कलम आवश्यक : मुख्यमन्त्री राउत
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकार सञ्चालनका लागि बन्दुक, पैसा र कलम आवश्यक रहेको बताएका छन्।
मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै राउतले यसका लागि प्रदेश सरकार प्रदेश प्रहरी ऐन, निजामति सेवा ऐन, कर सम्बन्धी ऐन चाँडै ल्याउन लागेको समेत बताए।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले सुशासनलाई आफनो पहिलो प्राथमिकताका राखेको बताउँदै त्यसको सुरुवात आफैंबाट गर्न सबैमा आग्रह समेत गरे।
मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई कमजोर बनाइ, स्थानीय सरकारलाई बढी बोझ दिएर संघीयतालाई नै असफल बनाउने षडयन्त्र भइरहे पनि प्रदेश २ को सरकार र यहाँका जनताले त्यस्ता षडयन्त्रलाई सफल हुन नदिने समेत बताए।
कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका मुख्यमन्त्री राउतले मुलुकमा संघीयता ल्याउन स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै स्वास्थ्यकर्मीहरुको न्यायोचित मागका साथै पहिचान, सम्मान र अधिकारका लागि प्रदेश सरकार तत्पर रहेको बताए।