News स्वास्थ्य

तौल घटाउँदा गरिने गल्ती, भ्रम र सही उपाय

तौल घटाउँदा गरिने गल्ती, भ्रम र सही उपाय

हामी वजन बढी भयो भनेर स्लिम हुन घण्टौँ जिममा पसिना बगाउँछौँ । डाइटिङ गर्दै आफूलाई मीठो लाग्ने खाना पनि बार्छाैं, तर यस्तो बानीले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ ।

 

तौल घटाउन एकोहोरो कसरत गरेर मात्र हुँदैन । कसरतपछि अनिर्वाय रूपमा प्रशस्त पानी पिउनुपर्छ । कसरत गर्दा पसिना बग्ने हुँदा शरीरलाई सन्तुलित राख्न पानी आवश्यक हुन्छ । सन्तुलित पानीको सेवनले तौल घटाउन मद्दत गर्छ । 

 

तौल घटाउन कतिपय मानिस खाली पेट कसरत गर्छन् । यो ठूलो गल्ती हो । प्रत्येक दिन केही नखाई लगातार कसरत गर्दा शरीरबाट शक्ति नष्ट हुन्छ । जसले गर्दा मांसपेशी कमजोर हुन सक्छ । यसरी वजन कम गर्दा स्वास्थ्यसम्बन्धी समस्या उत्पन्नसमेत हुन्छ । त्यसैले केही खाएर मात्र कसरत गर्नु उपयुक्त मानिन्छ । 

 

बढी सुत्दा वजन बढ्छ भनेर धेरै मानिस कम सुत्छन्, तर शारीरिक तन्दुरुस्ती कायम राख्न कम्तीमा ८ घण्टा सुत्नु अनिवार्य छ । डाइटिङका नाममा खाना नखानु अर्को ठूलो गल्ती हो । यदि तौल घटाउने सोचमा छ भने हरियो सागपात एवं सलादमा जोड दिनुपर्छ । अध्ययनअनुसार कम खानाले दैनिक गरिने काममा असहजता उत्पन्न हुन्छ जसले अल्छीपन बढाउँछ । 

 

वजन घटाउने भूत चढेपछि केही मानिस डाइटिङका नाममा बिहान–बेलुका नास्ता खान छोड्छन् । यस्तो बानीले सीधै पेटमा असर गर्छ । बिहान नास्ता नगरी एकैपटक धेरै खाँदा वजन घट्नुको साटो बढ्न सक्छ । वजन घटाउन डाइटिङ गर्नुअघि चिकित्सकको सल्लाह आवश्यक छ । बढी डाइटिङ गर्नुभन्दा पनि सही समयमा सही तरिकाले खानु उपयुक्त हुन्छ । 

 

पेटमा कुनै समस्या छैन भने अनुहार सधैँ हँसिलो हुन्छ, तर बिहानै कब्जियतको समस्या भयो भने शरीरमा आलस्य उत्पन्न हुन्छ । बिहानै शौच राम्रो भयो भने शरीर दिनभर स्फूर्त रहन्छ ।


 

डाइटिङ जिम तौल

विशेष