केपीलाई आरके मैनालीको सुझावः प्रचण्ड र माधवलाई जुधाउने चालवाजी रोक्नुस् (भिडियो)
एकतापछिको नेता प्रचण्ड नै हो
काठमाडौं । राधाकृष्ण मैनाली अर्थात् आरके मैनालीसँग नेपाली कम्युनिष्ट आन्दोलनको लामो अनुभव छ । झापा विद्रोहको रापबाट उदाएका मैनाली अहिले नेकपा एमालेको केन्द्रीय सदस्यको भुमिकामा छन् ।
बढ्दो उमेरसँगै पार्टीमा उनको नेतृत्वदायी भुमिका र जिम्मेवारी पनि कम हुँदैगएको छ । तत्कालिन मालेको नेतृत्वदायी भुमिकामै रहेर राजनीति गरेका मैनाली एमालेको केन्द्रीय सदस्य त छन् खास जिम्मेवारी छैन । यतिसम्म कि, एमाले–माओवादी एकतापछि पार्टीमा कस्तो भुमिका हुनेछ भन्ने उनी आफैँले चासो राख्न छोडेका छन् ।
‘यस्तो निश्क्रियता मैले चाहेको थिइन’
दुई वर्षअघि माओवादीबाट एमालेमा फर्किएका मैनाली खासमा अझै सक्रिय राजनीतिक जीवन चाहन्छन् । तर पार्टी नेतृत्वबाटै उनलाई जिम्मेवारी दिइएन ।
यसको लागि पार्टी अध्यक्ष केपी ओलीसँगै उनको गुनासो छ । पार्टी फर्काउन घरमै पुगेर आग्रह गरेका ओलीले पार्टीमा जिम्मेवारी दिन आनाकानी गरेको उनको गुनासो छ ।
मैनालीका अनुसार केपी ओलीले निवासमै पटक पटक गएर पार्टीमा आउन आग्रह गरेका थिए । र पार्टीमा जिम्मेवारी दिइने बाचा गरे पनि पछि पार्टीको केन्द्रीय कमिटीमा समेत उनको नाम प्रस्ताव गरेनन् ।
अन्ततः एमालेको निर्णय प्रक्रियामा उनको भुमिका अपेक्षाकृत भएन ।
वाम एकताबारे
एमाले–माओवादीबीच एकता हुने भनिएपछि उत्साही छन् उनी । तर सिद्धान्त र आदर्शलाई बिसाएर पदीय भागवण्डामै अलमलिने अवस्थाबाट भने असन्तुष्ट छन् ।
एकता घोषणाको लागि भएको भेलामै ‘ब्यानर विवाद’लाई पनि उनी ठीक ठान्दैनन् । यसबाहेक एमाले–माओवादीका नेताहरु को कहाँ रहने भनी गरिएको पदीय विवादले दिर्घकालिन रुपमै एकीकृत पार्टीमा असर पुर्याउने उनको आशंका छ ।
‘ठूलो पार्टीको हैसियतले एमाले बढी जिम्मेवार बन्न जरुरी छ,’ मैनालीले भने, ‘यदी अहिले एकता भएन भने यसको सबैभन्दा बढी असर एमालेलाई नै पर्नेछ ।’
यदी एकता नहुने हो भने बरु चुनावी तालमेल नै ठीक थियो भन्छन् मैनाली । यस हिसावले पनि एमाले लचिलो बनेरै एकता पहल गर्नुपर्ने उनको तर्क छ ।
साथै एकताका प्रमुख नेता केपी ओली र प्रचण्ड नै रहेको भन्दै केपीपछिको नेतृत्व माधव नेपाल वा झलनाथ खनाल नभएर प्रचण्ड नै हुने उनको भनाइ छ ।