News राजनीति

कांग्रेस बैठक स्थगित, गच्छदारले दिए दबाब

कांग्रेस बैठक स्थगित, गच्छदारले दिए दबाब

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक शनिबार बिहान बस्ने गरी स्थगित गरिएको छ। आजको बैठकमा बोल्दै आमन्त्रित केन्द्रीय सदस्य विजय गच्छदारले नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक एकीकरण हुँदा भएका सहमति लागू हुनुपर्नेमा जोड दिएका छन् । 

 

हिजो तीन घण्टा बोलेका गच्छादार आज पनि बैठकको शुरुवातमा बोलेका थिए । उनले पार्टी एकीकरणको समयमा गरिएको सहमति अनुसार उपसभापतिको दाबी गरेका थिए। निर्वाचित केन्द्रीय सदस्य मात्रै मनोनित हुने विधानका कारण गच्छदारलाई उपसभापति बन्न नसक्ने विधानको अड्चन छ। 

 

गच्छदार लगत्तै बोलेका बरिष्ठ नेता रामचन्द्र पौडेलले दलमा पारदर्शिता नभएको भन्दै सभापतिको आलोचना गरेका थिए। पौडेलले निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्नुपर्ने बताएका थिए। पौडेलले विधान विपरीत नेतृत्व चलेको भन्दै सभापतिको आलोचना गरेका थिए। 

 

जारी केन्द्रीय समितिको बैठकमा महामन्त्रीको प्रतिवेदन भोलि पेश हुने बताइएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको प्रतिवेदनले हालसम्म उठेका धारणाहरुको सम्बोधन गर्ने बताए।

 

दलको आगामी कार्यनीति पनि प्रतिवेदनमा समावेश भएको उनले बताए। महामन्त्रीको प्रतिवेदन बैठकमा प्रस्तुत भएपछि सबैका सुझाव समेटेर पारित गरिने उनले जानकारी गराए। बैठक शनिबार ९ बजे बस्ने जनाइएको छ । 

कांग्रेस बैठक विजय गच्छदार

विशेष