News अर्थ कर्पोरेट देश

३० जनाको २५ करोड लगानीमा नेपालमै पहिलो स्वचालित कापी उद्योगको स्थापना

३० जनाको २५ करोड लगानीमा नेपालमै पहिलो स्वचालित कापी उद्योगको स्थापना

 चितवन । स्वदेशमै गुणस्तरीय कापीको उत्पादन र आयात प्रतिस्थापन गर्ने उद्देश्यले चितवनमा अत्याधुनिक प्रविधिको कापी उद्योग स्थापना भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भरतपुर महानगरपालिका, ४ शिवघाटमा रहेको उक्त पूर्ण स्वचालित प्रविधियुक्त उद्योगको शनिवार उद्घाटन गरे । स्वदेशमै हुने गुणस्तरीय उत्पादनले विदेशबाट हुने कापीको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने मन्त्री यादवले उद्घाटन पछि बताए ।

 

समृद्ध नेपालको लागि उद्योगहरुको आवश्यकता औंल्याउँदै उद्योग व्यवसायको लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिवद्ध रहेको उनले बताए । कमिसनका कारण नेपालमा रहेका अधिकांश उद्योगहरु बन्द हुने गरेको बताउंँदै उनले कमिशन र भ्रष्टाचारको अन्त्य गर्न आफू कटिबद्ध रहने पनि उल्लेख गरे । ‘सरकारको लक्ष्य स्वदेशमा उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु हो, हामी त्यहि दिशामा केन्द्रित छौं’, उनले भने, ‘देशलाई आत्मनिर्भर बनाउनको लागि अध्ययन, अनुसन्धान र पूर्वाधारको काम अघि बढिसकेको छ ।’


उद्योगमा ३० जनाको २५ करोड लगानी

पुजा कापी उद्योगका निर्देशक सञ्जय चौधरीले ३० जना युवाहरुको संयुक्त लगानीमा उद्योग स्थापना भएको जानकारी दिंदै स्वदेशी बजारमा गुणस्तरीय कापी आपूर्तिका लागि उद्योग सहयोगी हुने बताए । ५ कठ्ठा क्षेत्रफलमा स्थापित उद्योगमा करीब २५ करोड रुपैयाँ लगानी भइसकेको बताईएको छ ।

 

‘नेपालमा वार्षिक चार अर्ब रुपैयाँभन्दा बढीको कापी आयात गर्नुपरेको छ । यस उद्योगले केही प्रतिशतसम्म भएपनि आयात कम गर्न सहयोग पुग्ने आशा गरेका छौै,’ चौधरीले भने । दैनिक ३० टन कापी उत्पादन गर्ने उक्त उद्योगले पूर्ण स्वचालित प्रविधिमार्फत मेशीनले कागज रोल गर्ने, फोल्डिङ्ग गर्ने, ब्याण्डिङ्ग गरी गुणस्तरीय कापी उत्पादन गर्छ ।

 

उद्योगमा अहिले १ दर्जनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । यस उद्योगबाट उत्पादित कापी, डायरी, लेजरबुकलगायतका उत्पादनहरु गुणस्तरीय हुनुका साथै तुलनात्मक रुपमा अन्य उद्योगको भन्दा कम मूल्यमा उपलव्ध हुने कम्पनीको दावी छ । कापी उद्योग सञ्चालनको लागि चाहिने सबै कच्चा पदार्थ बाहिरबाट ल्याउनुपरेको हुँदा देशमा नै कच्चा पदार्थ उत्पादन हुन सके सस्तो मूल्यमा गुणस्तरीय कापी उपलब्ध गराउन सकिने उद्योगका अध्यक्ष उत्तम रेग्मीले बताए । स्वदेशी कापी उद्योगको लागि सरकारले विशेष सहुलियत दिनुपर्ने उनको माग छ ।

 

पहिलो चरणमा चितवनको बजारमा आफ्ना उत्पादन विक्री गरिने जानकारी दिंदै रेग्मीले विस्तारै देशभर बजार विस्तार गर्ने योजना रहेको बताएका छन् । उद्योगका मेशीनहरुमा बिशेष प्रविधियुक्त साइरन, डिजीटल सिष्टम भएको हुंदा पूर्ण सुरक्षित र किफायती हुने बताइएको छ । सो उद्योगको मेशीन मा केही गढबडी आएमा साइरनको माध्यमबाट सचेत गराउने गरेको रेग्मीले बताए ।

 

यसैबीच मन्त्री यादवले लामो समयदेखि बन्द रहेको भृकुटी कागज कारखानाको पनि निरीक्षण गरेका थिए ।

लगानी स्थापना स्वचालित कापी उद्योग

विशेष